उपलब्ध गराइएको प्रमाण नै मेटाउँछ बैदाम प्रहरी

Posted on: 11 Oct, 2017


पोखरा ,२५ असोज | पछिल्लो समय विवादमा मुछिएको वडा प्रहरी कार्यालय बैदामको अनुसन्धानमा शंका उब्जिएको छ । रात्री व्यवसायमा ‘आतंक’ मच्चाएको आरोप खेपिरहेको बैदाम प्रहरीले पीडितबाट उपलब्ध गराइएको प्रमाण नै नष्ट गरेपछि स्थानीयले शंकाले हेर्न थालेका हुन् ।

कहिले स्थानीयलाई नै दुव्र्यवहार गरेको, त कहिले व्यवसायीसँग पैसाको बार्गेनिङ गरेको आरोप लागेको बैदाम प्रहरीले चोरीको घटनाको सिसी फुटेज नै नष्ट पारेपछि विश्वास गुमेको एक व्यवसायीले बताए । स्थानीयका अनुसार चोरीका २ वटा घटना र भाडाको बाइकको विषयमा भएको चरम लापरवाहीलाई हेर्ने हो भने बैदाम प्रहरीको नियतमा शंका उब्जनु स्वाभाविकै हो ।

घटना १ः
लेकसाइड खहरेको एक होटलमा चोरी भयो । होटल मालिकको नगद ८० हजार, सुन र लत्ताकपडा चोरियो । होटल मालिकले प्रहरीकहाँ खबर गरे । बैदाम प्रहरी कार्यालका प्रमुख इन्स्पेक्टर वसन्त शर्माकै कमान्डमा टोली घटनास्थल पुग्यो । मुचुल्का गरियो । जाहेरी पनि प¥यो । त्यस होटलमा त्यो पहिलो पटक भने चोरी भएको थिएन । त्यसअघि धेरैपटक चोरी भएको भन्ने प्रहरीमा उजुरी नै परेको छ । होटल मालिकका अनुसार असारयता नै ५ पटक चोरी भइसकेको छ ।

साउन अन्तिम साता भएको चोरी बुझ्न बैदाम प्रहरी प्रमुख शर्मा नै गएपछि चोर छिट्टै पत्ता लाग्ने विश्वास होटल सञ्चालकले गरेका थिए । त्यतिमात्र होइन चोरी भएको होटल अगाडिको सिसी क्यामेरामा पनि चोरी गर्दै गरेको दृश्य कैद भएको रहेछ । चोरी भएको बेला बिहानको २ बजे केही युवा होटल अगाडि बसेर नियालेको देखिन्छ । ४ बजे एकजना झोला बोकेर होटल भित्र पस्छ । सामान बोकेरे बाहिर आएको फुटेजमा स्पष्ट देखिन्छ ।

होटलका मालिक र स्थानीय युवा शिशीर पहारी त्यो दृश्य लिएर प्रहरीकहाँ पुगे । जाहेरी पनि दिए । फुटेजमा अघिल्लो दिनदेखि चोरी भएको बिहानसम्मको दृश्य कैद थियो ।

बिहान २ बजे चोर आएको समयदेखि बिहानको ५ बजेसम्मको फुटेज प्रहरीकहाँ पुगेपछि मेटिएको शिशीर पहारीले बताए । ‘अरु समयको नहराउने त्यही चोरी भएको समयको फुटेज हराउँदा शंका गर्ने बाटो भयो,’ उनले भने, ‘पटक–पटक चोरी भएको होटलको घटनामा प्रहरीले लापरवाही गर्दा अपराधी उम्कने मौका पाएको छ ।’ बैदाम प्रहरीबाटै प्रमाण नष्ट भएपछि पहारीले भदौ २८ गते भएको नागरिक सुनुवाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अशोक सिंहकै अगाडि सार्वजनिक रुपमै सबै घटना विवरण सुनाएका थिए ।

प्रहरी स्रोतका अनुसार सिसी क्यामेरामा कैद दृश्य अनुसार चोर सजिलै पक्राउ गर्न मिल्थ्यो । ‘चोरी गर्नेमा प्रायः पटकेहरु हुन्छन्, धेरैलाई हामी चिन्छौं,’ उनले भने, ‘दृश्यमा हेरेर हामीले छुट्याउन नसके पनि पुराना चोरलाई देखाउने हो भने उनीहरुले ठ्याकै चिन्छन् । बैदाम प्रहरीले जानेर होस् या अन्जानमा ठूलो गल्ती गरेको हो । यसको जिम्मा लिनुपर्छ ।’ सिसी फुटेज हराएसँगै घटनाको अनुसन्धानमा शून्य भएको स्रोतले बतायो ।

घटना २ः
भदौ २८ गते ताल होटलको एउटा कोठामा चोरी भयो । काठमाडौंबाट परिवारसहित पोखरा घुम्न आएका पाहुना सुदीप गुरुङको नगद २ लाख ६० हजार चोरी भयो । गुरुङले बैदाम प्रहरीकहाँ उजुरी दिए । गुरुङलाई होटलकै स्टाफ रेशम आले मगरमाथि शंका भएको प्रहरीकहाँ बताए । रेशमलाई प्रहरीले पक्राउ गरी ल्यायो । रेशमले अर्को होटल गोल्डेन रोजका २ स्टाफले चोरेको हुन सक्ने भन्दै बयान दिए ।

ती २ जना स्टाफलाई पनि प्रहरीले नियन्त्रणमा लियो । सोधपुछ गर्दा २ स्टाफलाई रेशमले केही दिनअघि चोर्ने योजना बनाएर सल्लाह लिएको खुल्नमा आयो । तर २ जनाले नमानेपछि उनीहरुलाई फसाउन रेशमले नाम दिएका रहेछन् । त्यसपछि ती २ स्टाफको कुनै दोष नदेखिएपछि प्रहरीले छाड्यो ।

फेरि रेशमलाई केरकार गरेपछि उनले गोल्डेन रोजका मालिकले चोर्न लगाएको बयान दिए । त्यसपछि बैदामका स्थानीय अगुवा, पीडित गुरुङ र बैदाम प्रहरी प्रमुखकै अगाडि रेशमले गोल्डेन रोजका मालिकले चोर्न लगाएको भन्दा समेत कुनै कारबाही भएन । चोरले आफै गोल्डेन रोजका मालिकको नाम लिँदा प्रहरीले हिरासतमा नराखेको पीडित गुरुङले बताए । ‘अरुलाई हिरासतमै राखेर सोधपुछ गर्ने तर, चोर नै भनेको मान्छेलाई थुनेर सोध पुछ नगर्दा चित्त बुझेन,’ उनले भने, ‘उनी दोषी होस् या नहोस् तर, चोरले नै भनेपछि बैदाम प्रहरीले हिरासतमा राख्नुपर्ने थियो ।’

चोरीको घटना बैदाम प्रहरीले फितलो अनुसन्धान गरेपछि गुरुङले पनि भदौ २८ कै सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो पीडा पोखेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीकै प्रमुख एसपी अशोक सिंहको उपस्थितिमा गुरुङले आफ्ना कुरा राखेपछि एसपीले भोलिपल्ट उनलाई कार्यालय डाकेका थिए । त्यसपछि बल्ल गोल्डेन रोजका मालिकलाई कास्की प्रहरीले पक्राउ ग¥यो । हिरासतमा राखेर सोधपुछ गरेपछि उनलाई रिहा गरियो ।

तर अहिलेसम्म घटना टुङ्गो लागेको छैन । असोज पहिलो हप्ता नै घर जानुपर्ने पीडित सुदीप गुरुङ घटनाको किनारा नलाग्दा अहिलेसम्म पोखरामै छन् ।

घटना ३ :
भदौदेखि नै लेकसाइड क्षेत्रमा फुटपाथ ओगटेर राखिएका भाडाको बाइक हटाउन पहल स्थानीयबाटै भएको हो । त्यसका लागि बैदाम प्रहरीले नै मुख्य भूमिका खेल्नुपर्ने थियो । पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारीले पनि प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।

भाडामा लगाइने ५ सयभन्दा बढी मोटरसाइकल लेकसाइडमा फुटपाथ नै ओगटेर राखिएका हुन्छन् । किराना पसल, कस्मेटिक, फेन्सी, होटल होस् वा जुन सुकै व्यवसायीले पनि मोटरसाइकल भाडामा दिन्छन् । व्यापारका लागि फुटपाथै ओगटेर राखेको गुनासो पटक–पटक बैदाम प्रहरीकहाँ पुग्दा समेत सुनुवाइ भएको छैन ।

वडा प्रहरी कार्यालयले नै आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भाडाको बाइककै विषयमा कुरा उठेपछि जिल्ला प्रहरी कार्यालयका एसपी अशोक सिंहले कार्यक्रममै बाइक राखेको पाइए कडा कारबाही गर्न बैदाम प्रहरीलाई निर्देशन दिएका थिए । त्यसको १÷२ दिन प्रहरीले केही कडाइ गरे पनि त्यसपछि समस्या जस्ताको त्यस्तै छ ।

‘प्रहरीले सुरुमा १÷२ जना बाइकधनीलाई कारबाही गरेको थियो,’ स्रोतले भन्यो, ‘अहिले जस्ताको त्यस्तै छ समस्या ।’ बडा प्रहरी कार्यालय बैदामका प्रमुख इन्स्पेक्टर वसन्त शर्मा मोटर बाइक भाडामा लगाउने व्यवसायीहरुसँग नजिक भएको हुनाले नटेरेको स्रोत बताउँछ  ।

पोखराबाट प्रकाशित हुने समाधान राष्ट्रिय दैनिकबाट  लिइएको समाचार 

यस बिषयमा तपाइको प्रतिक्रिया...!