२ सय ६ मुलुकका १५ किलो सिक्का टाँसेर ‘सिक्का बाबा’ पर्वतमा

Posted on: 12 Oct, 2017

असोज २६, पर्वत | २ सय ६ देशका झण्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका सिक्काबाबा पर्वत आइपुग्नुभएको छ ।

विगत ६ वर्षदेखि विश्वशान्तिका लागि पैदल यात्रा शुरु गर्नुभएका कास्की हेम्जाका ४३ वर्षका रामबहादुर परियार ‘सिक्का बाबा’ बुधवार पर्वत आइपुग्नुभएको हो । २०६९ मंसिर २१ गतेदेखि भ्रमण थाल्नुभएका परियारले नेपालका ७५ जिल्लाको दुईपटक भ्रमण पुरा गर्नुभएको छ ।

बुधबार पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका परियारले १७ वर्ष्भित्र विश्वभ्रमण गरिसक्ने योजना साथ आफु यात्रामा निस्किएको बताउनुभयो । सिक्का बाबाले शान्ति, स्थिरतता र संविधानको पुर्ण कार्यान्वयन सँगै तोकिएकै मितिमा तीनवटै तहको चुनाव सम्पन्न गर्न र यातायात सेवाको विकासका लागि दबाब सन्देश दिन विश्व भ्रमण सुरु गरेको बताउनुभयो ।

उहाँले जिउमा लगाएका लुगा र टोपीमा २ सय ६ देशका सिक्का टाँसिएका छन् । सिक्का टाँसेको कपडा लगाएको सपना पटक–पटक देखेपछि विश्वभ्रमण गर्ने योजना आएको उहाँले सुनाउनुभयो ।

परियारले अगाडि र पछाडि दुबैतिरबाट लगाउन मिल्ने १९ पिसबाट बनाएको कमिज तथा पेन्ट लगाउनुभएको छ । नेपाल आएका पर्यटकहरुसँग मागेर विदेही सिक्का जम्मा गरेका परियारले नेपाली सिक्काहरु भने आफैले किन्नुभएको छ ।

शुरुमा ट्रेकिङ तथा नेपाल प्रहरीमा तीन वर्ष सम्म जुत्ता सिलाउने पेशा छाडेर शान्ति भ्रमणमा निस्किएका परियारले नेपाललाई बिश्वभर चिनाउने बताउनुभयो ।

अविवाहित सिक्का बाबाले सरकारी तथा गैर–सरकारी कार्यालय, व्यवसायी तथा व्यक्तिको आर्थिक सहयोगमा भ्रमण खर्च जुटाउनुभएको छ । उहाँले सरकारले नेपाल बाहेक अन्य मुलुकमा जानका लागि आफुलाई रोक लगाएका कारण विश्व भ्रमणमा निस्किन नपाएको बताउनुभयो । मैले नेपालको दुईपटक भ्रमण गरिसके, सरकारले फुकुवा गर्ने वित्तिकै शुरुमा भारत भ्रमणमा जान्छु उहाँले भन्नुभयो ।

परियारले आफुलाई प्रत्येक जिल्लामा जाँदा सुरक्षा र खान बस्नको व्यवस्था प्रहरी प्रशासनले मिलाउँदै आएको पनि बताउनुभयो । मुलुक राजनीतिक अस्थिरताका कारण पछाडि पर्दै गएको बताउँदै दिगो शान्ति र राजनीतिक स्थायित्व दिनका लागि शिर्ष दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङको यात्रा शुरु गरेको र लगत्तै डोल्पा र जुम्ला जाने तयारी रहेको समेत जानकारी दिनुभएको छ ।

उहाँले आफ्नो शरिरमा टाँसिएका मुद्राहरुको रुपैयामा हिसाव नगरिदिन पनि आग्रह गर्नुभयो । आफुलाई सुरक्षा चुनौती बढ्ने भएकाले रुपैयामा रुपान्तरण नगरिदिन समेत आग्रह गर्नुभएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!