प्रतिबन्धीत क्षेत्रमा मदिरा बोक्ने गाडी र चालक धरौटीमा रिहा

Posted on: 06 Nov, 2017

कात्तिक २०, दार्चुला । यहि कार्तिक १५ गते राती मालिकार्जुनबाट प्रहरीले बरामद गरेको मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालयले लिलाम गर्ने भएको छ । 

विभिन्न ब्राण्डको ३२ पेटी मदिरा कारोबारमा संलग्न देखिएका गाडी चालकलाई १५ हजार रुपैँया, तथा दुईवटा गाडीहरुलाई २५ हजार रुपयाँ धरौटीमा छाडिएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका प्रमुख जयानन्द जोशीले जानकारी दिनुभयो ।

विभिन्न ब्राण्डको जम्मा ३२ पेटी अबैध मदिरा मध्ये मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का प्रकाशसिह धामीले आफ्नो १२ पेटी मदिरा आफ्नो मात्रै रहेको स्वीकारेका छन् । मदिरा बरामद गर्दा मालिकार्जुन गाउँ पालिका वडा नम्बर ३ का नवनिर्वाचित सदस्य पदमसिह धामी, सोही वडाका कम्मानसिह धामीको पनि नाम रहेको थियो ।

अन्य १९ पेटी मदिरा कसको हो भन्ने अझै एकीन नभएको र त्यसको अनुसन्धान पनि भईरहेको कोलेनिकाले जनाएको छ । मदिरा कारोबारमा संलग्न देखिएका प्रकाशसिह धामीलाई पनि ३७ हजार रुपैँया धरौटीमा छाडिएको कोलेनिकाले जनाएको छ ।

बरामद गरिएको मदिराको मूल्य एकलाख भन्दा बढी रहेको छ । उक्त मदिरालाई लिलाम विक्री गरिने कोलेनिकाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!