आफ्नै भाइले दाउराले हानेर दाजुको हत्या गरे, बाटोमा हिड्ने सात बर्षीय बालिकालाईसमेत घाइते बनाए

Posted on: 11 Jan, 2018

पुस २७, इलाम । इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् । 

देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ बजेतिर दाउराले हानेर हत्या गरेको बताइएको छ । मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

हत्यापछि डिल्लीले इलाम नगरपालिका–११ सोयाककी सात वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरेको बताइएको छ । 

मामली घर जाने क्रममा सन्ध्यालाई कुटपिट गरेको इलाम प्रहरीको भनाइ छ । सन्ध्यालाई उपचारका लागि इलाम अस्पताल लगिएको जनाइएको छ । 

अभियुक्त डिल्लीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!