न्यानोको खोजीमा अशक्त किशोरी आसामा खातुन

Posted on: 18 Jan, 2018

माघ ४, महोत्तरी | घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् । 

शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा देखा पर्छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले पातलो मैलो कपडा लगाएर एक महिनादेखि जारी रहेको बाक्लो हुस्सु र शीतलहरले प्रभावित रहेको समयमा आसामा काम्दै सडकको पेटीमा आउँछिन् । 

शारीरिकरुपले अपाङ्ग मुस्लिम किशोरी आसामा सरकारी सुविधाबाट वञ्चित छिन् । जन्मजात अपाङ्ग रहेकी आसामाको परिवारजनले अहिलेसम्म अपाङ्ग परिचयपत्र बनाउन सकेको छैन । 

गाउँमा सिंहदरबार ल्याउने सपना देखाएर भोट लिएर गएका जनप्रतिनिधिहरुले अहिलेसम्म पनि अपाङ्ग परिचयपत्र बनाउनका लागि सहयोग नगरेको आसामाकी आमाले गुनासो गरिन् ।जलेश्वरमा लगेर अपाङ्ग परिचयपत्र बनाएर ल्याउने भनेर स्थानीयतहमा कार्यरत कर्मचारीहरुले टार्दै आएको तर सो सम्भव नभएको उनकी आमाले बताइन् । 

यस सम्बन्धमा गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेष मोहम्मद जलिलले आफूले वर्तमान समयमा आसामा जस्ता अपाङ्गको हकहितमा सोचेर पनि गर्न नसकेको स्वीकार गर्नुभयो । 

एकसय दिनको अवधिमा कार्यालय व्यवस्थापन हुन नसकेका कारण राहत वितरणमा ढिलो भएको वडाध्यक्ष जलिलले बताउनुभयो । गाउँमै सिंहदरबार ल्याउने सपना देखाएर चुनाव जितेका नेता तथा कार्यकर्ताको समयमा ध्यान जान नसक्दा यस क्षेत्रका हजारौँ गरिब, दलित एवम् अपाङ्गहरु राहतको पर्खाइमा रहेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!