सत्तरी वर्षमा चालक अनुमति परीक्षा उत्तीर्ण

Posted on: 23 Jan, 2018

माघ ९, भक्तपुर | यहाँका एक वृद्धले सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गर्नुभएको छ । 

सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले आज ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गर्नुभएको हो । आइतबार लिखित परीक्षा उत्तीर्ण गर्नुभएका बस्नेतले आज प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गर्नुभयो । 

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महेश बस्नेतका पिता पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आउनुभएको थियो । दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थाल्नुभएका पूर्णबहादुरले स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान अब सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै पटक स्कुटरमा पशुपति, डोलेश्वर, आशापुरीलगायत मन्दिर पुगेको छु, कहिलेकाहीँ गाउँमा स्कुटर चलाउँदा छोरा महेशले लाइसेन्स नभई स्कुटी चलाउँदा समस्या पर्छ भनेपछि लाइसेन्सको ट्रायल दिएको हुँ, पास भएँ ।” 

कुनै घटना भइहाले पूर्वमन्त्री, सांसदका बाबुले लाइसेन्सविना स्कुटी चलाए भनेर खबर जाला भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उहाँको भनाइ थियो । बस्नेतले राधेराधेस्थित इजीवे ट्रायल सेन्टरमा एक साता परीक्षासम्बन्धी ज्ञान लिएपछि पहिलो पटकमै लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको सञ्चालक निर्भयबाबु प्रसार्इंले जानकारी दिनुभयो । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!