झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

Posted on: 30 Jan, 2018

माघ १६ जनकपुरधाम | प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरिएको छ । 

शहीद झाको ५५ औं बलिदान दिवसका अवसरमा दुर्गानन्द झा स्मारक निर्माण समितिद्वारा सोमबार यहाँ आयोजित समारोहका वक्ताले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दजस्तै दुर्गानन्दलाई सम्मान दिनुपर्ने धारणा राख्नुभयो । 

विसं १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा जन्मनुभएका झाले विसं २०१८ माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार गरेकामा विसं २०२० माघ १५ गते फाँसी दिइएको थियो । 

समारोहमा वरिष्ठ अधिवक्ता युगलकिशोर लालले झाको बलिदानी गुलामीविरूद्ध भएको बताउनुभयो । प्रा हरेकृष्ण साहले झालाई प्रथम गणतान्त्रिक शहीद घोषणा नगरी शासक वर्गले द्वैध चरित्र प्रदर्शन गरिरहेको आरोप लगाउनुभयो । साहित्यकार रामस्वार्थ ठाकुरले सबै मिलेर शहीद झाको स्मारक निर्माण गर्नुपर्छ भन्नुभयो । 

गणतन्त्रको घोषणापछि विसं २०६५ असार ९ गते बौद्धिक समाजको सक्रियतामा भएको भेलाले वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षतामा दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरिएको र समितिको मागअनुसार स्मारक निर्माण गर्न गुठी कार्यालयबाट जानकी मन्दिरको अगाडिको उद्यानमा जग्गा उपलब्ध गराइएपछि झाकी धर्मपत्नी काशीदेवीद्वारा साउन २१ गते शिलान्यास भएको थियो । 

शिलान्यासपछि २०६७ चैत ८ गते जनकपुर पुनरावेदन अदालतद्वारा सो स्थलमा स्मारक निर्माणमा रोक लगाइएका कारण निर्माण स्थगनमा रहेको छ । निर्माण समितिका अध्यक्ष नेपालीले स्मारक निर्माणमाथि लगाइएको रोक हालै खारेज भएको जानकारी दिँदै अब सबैको सद्भाव रहेमा झाको जन्मजयन्तीसम्ममा स्मारक निर्माण गर्न सकिने बताउनुभयो । 

समारोहमा रामरत्न यादव, तोयाराज घिमिरे, इन्द्र कुमार, उपेन्द्रभगत नागवंशी, श्रीनारायण साह, प्रेमविदेह ललन, अवधकिशोरप्रसाद र भोगेन्द्रलाल कर्णले झाको सपना र संघर्षबारे प्रकाश पार्नुभएको थियो ।  रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!