सर्लाहीको मलंगवामा एकै रातमा ५ वटा पसलमा चोरी, व्यापारीद्वारा बजार बन्द

Posted on: 31 Jan, 2018

माघ १७, सर्लाही | सर्लाही सदरमुकाम मलंगवामा चोरीका घटना बढेका छन् | सोमवार राती मात्रै सदरमुकाम मलंगवा स्थित बाल मन्दिर चौकमा ५ वटा पसलमा चोरी भएको छ |

उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष ईश्वर गुप्ताका अनुसार विभिन्न व्यापारीले सञ्चालन गरिरहेका हार्डवेयर, कस्मेटिक, जुत्ता, किताब र फेन्सी पसलमा चोरी भएको हो | जिल्ला प्रहरी कार्यालय नजिकै मुख्य बजार क्षेत्रबाट लाखौँको धनमाल चोरी भएपछि स्थानीय व्यापारी त्रसित भएका छन् |

शान्ति सुरक्षाको माग गर्दै बिहान केहीबेर व्यापारीहरुले मलंगवामा सबै व्यापार व्यवसायी बन्द गरेका थिए | प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र प्रहरी प्रमुख मसउद आलम खाँले चोरी नियन्त्रणका लागि गस्ती बढाउने तथा चोरीमा संलग्नहरुलाई एक–दुई दिन भित्रै पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि बन्द खुलेको छ |

मलंगवामा पछिल्लो समय श्रृङखलावद्ध रुपमा चोरीका घटना बढेको व्यापारीहरुले बताएका छन् | सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले सोमवार राती भएको चोरीका घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जानकारी दिए | चोरी भएका सर–सामान बारे विवरण संकलन गर्ने काम भैरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!