चमेलियाको उद्घाटन माघ २७ गते

Posted on: 07 Feb, 2018

माघ २४, दार्चुला | दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ । 

सरकारी लगानीमा निर्माण भएको ३० मेगावाटको चमेलिया जलविद्युत्को औपचारिक उद्घाटनका लागि माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवा आयोजनास्थल बलाच आउनु हुने आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले औपचारिक रुपमा उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक उत्पादन थाल्ने समेत आयोजना प्रमुख दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा सँगै उद्घाटनका लागि ऊर्जामन्त्री कमल थापासमेत आउनु हुने भएको र उद्घाटनका लागि आयोजना स्थलमा आवश्यक तयारी थालिएको समेत उहाँले जानकारी दिनुभयो । 

यता प्रधानमन्त्री आउने भएपछि जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयबाट परिपत्र गरिएको छ । सो दिन सुरक्षा व्यवस्थालाई चुस्त एवम् दुरुस्त बनाउन परिपत्र प्राप्त भएको प्रजिअ जनार्दन गौतमले जानकारी दिनुभयो । आयोजनाले हाल १५÷१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । 

आयोजना निर्माण शुरु भएको झण्डै ११ वर्षपछि विद्युत् उत्पादन भएको हो । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको हो । आयोजना निर्माणमा भएको ढिलाइले लागत बढेर १६ अर्ब रुपैयाँमा पुगेको छ । 

आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । आयोजनाका अनुसार यसबाट वार्षिक रु एक अर्ब १० करोड आम्दानी हुनेछ । आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!