प्रदेश ४ का कार्यालयमा ७० प्रतिशत कर्मचारी हाजिर भए

Posted on: 23 Feb, 2018

फागुन ११, पोखरा | नयाँ प्रादेशिक संरचनाअनुसार पोखरास्थित प्रदेश नं ४ का कार्यालयमा खटाइएका ७० प्रतिशतभन्दा बढी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा पुगी जिम्मेवारी सम्हालिसक्नुभएको छ । 

तत्कालीन आवश्यकतालाई दृष्टिगत गरी सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा २२० दरबन्दी निर्धारण गरेकामा १३७ कर्मचारीलाई विभिन्न मन्त्रालय एवं कार्यालयका लागि खटाइसकेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार हालसम्म खटाइएकामध्ये १०५ कर्मचारी सम्बन्धित मन्त्रालय एवं कार्यालयमा पुगी जिम्मेवारी सम्हाल्नुभएको छ भने अन्य आउने क्रममा हुनुहुन्छ । 

सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २१, प्रदेश प्रमुखको कार्यालयमा १८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ कर्मचारीको दरबन्दी तोकेको छ । 

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २०, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३० र प्रदेशसभा सचिवालयमा २८ जना कर्मचारीको दरबन्दी तोकिएको छ । 

नयाँ प्रादेशिक संरचनाअनुसार आवश्यक व्यवस्थापन कार्य भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!