सिमलपानीमा पुर्जा वितरण

Posted on: 23 Feb, 2018

फागुन ११, अर्घाखाँची | अर्घाखाँचीको शीतगंगा नगरपालिकाको सिमलपानीमा जग्गाधनी लालपुर्जा वितरण शुरु गरिएको छ । आज प्रभाकर माविमा कार्यक्रमको आयोजना गरी नगरको वडा नम्बर १३ र १४ का एक हजार एक सय ४० जग्गाधनीको पुर्जा बाड्न थालिएको हो । 

विशेष नापी कार्यालयको आयोजनामा भएको कार्यक्रममा प्रदेश ५ का सदस्य रामजीप्रसाद घिमिरेले पुर्जा जग्गाधनीको हातमा थमाएपछि वितरण शुरु भएको हो । २०५९ र ०६१ मा तत्कालिन विद्रोही माओवादीले सदरमुकाम आक्रमण गर्दा नापी कार्यालयका सम्पूर्ण कागजपत्र जलेर नष्ट भएपछि डेढ दशकसम्म जिल्ला नक्सा विहीन भएको थियो । कार्यक्रममा घिमिरे पुर्जा पाएपछि जग्गाधनीलाई सविधा भएको भन्दै अब गाउँका खेतबारीमा उत्पादन बढाउनुपर्ने बताउनुभयो । उहाले मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिबाट गाउलाई उत्पादनमा आत्मनिर्भर बनाएर नेपाललाई सम्बृद्ध र विकसित राष्ट बनाउनुपर्ने धाराण राख्नुभयो ।

कार्यक्रममा शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले नगरलाई सम्बृद्ध बनाउनेतर्फ आफनो ध्यान रहेकाले अब कृषि र पशुमा आधुनिकीरण गरेर सम्बृद्ध नगर बनाउने योजनामा आफु रहेको बताउनुभयो । उपप्रमुख टीका रेश्मीले नगरभित्रका खेतीयोग्य जग्गा बाँझो राख्नेलाई सरकारी सुविधाबाट वञ्चित गरिने बताउनुभयो । कान्तिपुर दैनिकका उप–सम्पादक वीरेन्द्र केसी, शीतगंगा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष दामोदर न्यौपाने र १३ का अध्यक्ष दुर्गा विसी, नेपाल टेलिभिजनका पत्रकार मुक्तिनाथ भुसाल नाप नक्शा बनाउन खटिने कार्मचारीलाई बधाई सहित नगरलाई सम्बृद्ध बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा विशेष नापी कार्यालयका प्रमुख नापी अधिकृत उमेश कुमारको अध्यक्षता, लेखापाल गोविन्दराज पौडेलको सञ्चालन र टोली प्रमुख राम उदार यावदको स्वागतमा सम्पन्न कार्यक्रममा सिपलपानीका गाउँ–गाउँबाट घण्टौ पैदल हिडेर जग्गाधनी आएका थिए । १२ र १३ छेडाबजार, १४ गते पावरमा पुर्जा वितरण गरिने विशेष नापी कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!