कालिकोटका यूवाहरु गाउँको बिकासमा जुटे

Posted on: 25 Feb, 2018

फागुन १३, कालिकोट । पलाता गाउँपालिकाका यूवाहरु गाउँको बिकासका लागि जुटेका छन् । 

गाउँपालिकाले यूवाहरुलाई विदेश जानबाट रोक्न गाउँमै कामको सिर्जना गरेपछि उनीहरु गाउँको बिकासमा लागेका हुन् । यहाँका सयौ यूवाहरु बर्सेनी कामको खोजीमा भारत जाने गर्दछ । गाउँ पालिकाले काम दिए पछि उनीहरुलाई गाउँमै स्वरोजगार बनेका हुन् ।


स्थानीय तहको निर्वाचन भएपछि गाउँमा जनप्रतिनिधी निर्वाचित भएसंगै पलाताका यूवाहरु ‘आफ्नो गाउँ आफै बनाउँ, भन्ने उद्देश्यले गाउँ बिकासमा लागेका हुन् । 

गाउँपालिकाको सबै वडाहरुबाट १०÷१० जना गरी करिब १ सय जना यूवाहरुलाई बिकासमा लगाइएको हो । दैनिक ८ सय रुपैयाँ पाउने गरी यूवाहरु बिकास कार्यदलमा लागेका हुन् । गाउँपालिकाको यस्तो निर्णयले यूवाहरुलाई भारत जान रोकेको छ भने गाउँको बिकासमा पनि सहयोग मिलेको छ ।

गाउँपालिकाले बजेट बिनियोजना गरेका स्थानीय सडक, खानेपानी लगायतका योजनाहरुमा काम पाएका छन् । गाउँपालिका भित्रका भौतिक पूर्वाधारका कामहरुमा युवाहरुलाई संगठित रुपलगाउने जिम्मा गाउँपालिकाले लिएको छ । 

कार्यदलले उपभोक्ता समितिसँग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए । दक्ष जनशक्ति बाहिरिने र विकासका कार्यमा बाधा आइपर्ने समस्याको अन्त्यका लागि स्थानीय सडक निर्माणमा कार्यदल गठन गरिएको अध्यक्ष बमले बताए ।

पलाँता कालीकोटको विकट र सुख्खाग्रस्त क्षेत्र हो । यहाँका युवाहरु ६ महिना भारत बसेर ६ महिना मात्रै घरमा बस्ने गर्छन् । गाएँपािलकोको निर्णयले यूवाहरुले भारत जानु पर्ने बाध्यता हटेको अध्यक्ष बमको दावी छ । 

गाउँपालिकाले पहिलो चरणमा १ सय युवाहरुलाई डेढ लाखको बीमासहित छुट्टै पोशाक दिएर पहिचानसहित काममा लगाउने तयारी गरेको छ ।  उनीहरुले दैनिक ८ घण्टा काम गरेवाफत  दिनको ८ सय रुपैयाँका दरले एक महिनामा २४ हजार नियमित ज्याला पाउने छन् ।

सामूहिक बिकासको अवधारणा अनुसार युवालाई बिकासमा लगाउने उद्देश्यका साथ भौतिक पूर्वाधार निमार्ण गर्न युवा कार्यदल गठन गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले बताए । 

कार्यदलका सदस्यले महिनामा तीन दिन सरसफाइ, तीन दिन सामाजिक कार्य र २४ दिन निर्माण कार्य गर्ने गरी कार्य बिभाजन गरिएको छ ।पुस महिनाको २४ हजार तलब कार्यदलका सदस्यहरुले पाइसकेको कार्यकारी क्षेत्रीले बताए ।

कार्यदलका सदस्यहरुले सामाजिक लगानी कोष वाफत महिनामा २ हजार जम्मा गर्ने छन् । साथै वर्षमा २४ लाख कामका लागि युवा सहकारीका नाममा जम्मा हुने छ । 

उक्त रकमले युवाहरुको समृद्धिको काम र बिपद् जोखिम् न्यूनिकरणमा खर्च गरिने छ । कार्यदलका सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धित सडक निर्माण आयोजनामा नै व्यवस्था गर्ने सहमति भएको अध्यक्ष बमले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!