पर्वतको जलजला गापाको केन्द्र विवाद समाधान

Posted on: 04 Mar, 2018

 फागुन २०, पर्वत | लामो समयदेखि बल्झिएको यहाँको एक गाउँपालिकाको केन्द्र विवाद समाधान भएको छ । 

उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र राख्ने विषयमा जनप्रतिनिधिबीच भएको विवाद मिलेको हो । साबिकको माझफाँट गाविसको कार्यालयवाट सञ्चालन हुँदै आएको गाउँपालिकाको केन्द्र अब सोही गाविसको लामाखेतमा सर्ने भएको छ । हालै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लामाखेतमा केन्द्र तोक्ने निर्णय गरेपछि विवाद समाधान भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । 

गाउँपालिकाका स्थानीयवासीले माझफाँट केन्द्र हुँदा अपायक भएको र अन्य वडाका नागरिकले सास्ती खेप्नु परेको भन्दै लामो समय आन्दोलित समेत बनेका थिए । गाउँपालिका अन्तर्गत साबिक नाग्लीवाङ, धाइरिङ, बनौं, शालिजा र माझफाँटकै तल्लो क्षेत्रका बासिन्दा आन्दोलिन बनेका थिए । अहिले चलिरहेको गाउँपालिकाको केन्द्रमा पुग्न करीब ६ देखि ७ घण्टा पैदल धाउनुपर्ने र अपायक हुने भन्दै जनप्रतिनिधि आन्दोलित समेत बनेका थिए । 

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई दुई लाख 

पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित पञ्चकोशी माबिलाई चौरासी पूजाको अवसर पारेर एक दम्पतीले दुई लाख नगद सहयोग गरेका छन् । आर्थर डाँडाखर्क मेथेडाँडा घर भई पोखरा बस्दै आउनुभएका ओमप्रसाद गुरुङ र हितकुमारी गुरुङले शुक्रबार चौरासी पूजामा विद्यालयलाई दुई लाख रुपैयाँ नगद सहयोग गर्नुभएको हो । विद्यालयमा भूतपूर्व विद्यार्थीले शैक्षिक र भौतिक विकासका लागि पाँच करोड संकलन गर्ने लक्ष्य राखेर अभियान शुरु गरेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!