कर्जन्हा नगरपालिकाको विवाद उत्कर्षमा, सर्वदलिय समितिद्धारा सुचना माग

Posted on: 03 Aug, 2018

साउन १८, सिरहा। विगत केहि महिनादेखि जारी रहेको कर्जन्हा नगरपालिकाको विवाद उत्कर्षमा पुगेको छ । विकृति विसंगति रोक्ने उदेश्यले नगरपालिमामा भइरहेको गतिविधिको पारदर्शी रुपले सार्वजनिक गर्न माग गर्दै स्थानिय राजनितिक दलका अगुवा नेता कार्यकर्ताहरुले विभिन्न सुचना तथा विवरण उपलब्ध गराउन नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । 


स्थानिय राजनितिक दलहरुले  नगरपालिका स्तरीय १९ सदस्य सर्बदलिय समिति गठन गरी आ.व. २०७४÷०७५ मा वडा तथा नगरस्तरीय बिनियोजन भएका बजेट, योजना ईस्टिमेट र खर्चको विवरण लगायत ६ बुँदे माँग पत्र नगरपलिकामा बुझाएका छन् । 

समितिले विहिवार नगरपालिकाको मुल गेटमै पत्रकार सम्मलेन गरी आ.व. २०७४÷०७५ मा वडा तथा नगर स्तरीय खरीद गरेका जिन्सी, सवारीसाधन र  लागेको खर्च विवरण, आ.व. २०७५÷०७६ को योजना, नीती तथा कार्यक्रमको  विवरण, कन्टेन्जेन्सी वाप्नत कटाएको रकमबाट भएको काम र लागेको खर्चको विवरण, न्यायिक समितिको कार्य प्रगति विवरण र करको विवरण माग गरेका छन् । समितिको संयोजक राम औतार राईको नेतृत्वमा गएको टोलीले नगरपालिकाका मेयर गंगा पासमान र उमेयर ज्ञानु श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै माँग गरिएको सुचना उपलब्ध गराउन आग्रह गरेका छन् । 

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस बिज्ञप्ती मार्फत नगरपालिकामाथी १५ बुँदे समितिले आरोप लगाएका छन् । समितिले नगरका ११ वटा वडामा एक लाखका दरले विनियोजित ११ लाखको बजेट बिना निर्णय वडा नं. ६ को एक पोखरीको पुनः निर्माणमा खर्च गरी अनियमितता गरेको, लोक सेवाको परीक्षा तयारी गर्न ५ लाखको बजेटमा ३ लाखको किताब मात्र खरिद गरी बजेट दुरुपयोग गरेको, निर्णय बिना वडा नं. ६ को वेतहामा सडक निर्माण गर्न लगाई भ्रष्टाचार गरेको, आन्तरिक कोषबाट सवारी साधन खरिद गरी अख्तियार दुरुपयोग गरेको, आ.व. २०७४÷०७५ को यथार्थ आय–व्यय विवरण प्रस्तुत नगरी १ करोड ५० लाख अघिल्लोबाट ल्याएको देखाई बजेट अपचलन गरी भ्रष्टाचार गर्न खोजेको र नगरपालिका भवनमा आगजनी गरेका दोषीहरुलाई पता लगाउन नसकेको लगायतका १५ बुँदे आरोप नगरपालिकामाथी लगाएका छन् । 

मेयर गंगा पासमान ज्ञापन पत्र बुझ्दै माँग गरेको सूचना उपलब्ध गराउन आफु तयार रहेको प्रतिक्रिया दिएका छन् । माग गरिएको सूचनाहरुको विवरण  छिट्टै उपलब्ध गराउने भन्दै मेयर पासमानले कामको कागजातहरु दुरुस्त रहेकोले सूचना दिन कुनै समस्या नरहेको दाबी गरे । कर्जन्हा नगरपालिकामा विकास निर्माणका कार्यहरु रोक्न र दलित मेयरलाई बदनाम गर्न केहि तत्वहरु नै सकृय रहेको समेत उनले आरोप लगाए ।  

उपमेयर ज्ञानु श्रेष्ठले समितिले माँग गरेको विषय जायज रहेकोले छिट्टै उपलब्ध गराउने आश्वासन दिएका छन् । लामो समयदेखि नगरपालिकाका कार्यकारी अधिकृत रमेश दास कार्यालयमा उपस्थित नहुँदा कार्यालयका कामकाज लथालिङ्ग भएको र मेयरसंग मिलेमतो गरी काम गरिरहेको उपमेयर श्रेष्ठले आरोप लगाए । अधिकृत दास कार्यालयमा नआएको अवस्थामा पनि हाजिरी गरिरहेको समेत उनले बताईन् । 

समितिमा नेपाल कम्युनिष्ट पार्टी, संघिय समाजबादी फोरम, नेपाली कांग्रेस, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनर्माचा नेपाल र नागरिक समाजका प्रतिनिधिहरु गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!