हत्या आरोपमा एक महिलासहित चारजना पक्राउ

Posted on: 25 Aug, 2018

भदौ ९, बैतडी | दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्ना रहेका छन् । “पक्राउ परेका चारै जनालाई अनुसन्धानका लागि पक्रेका छौँं ”जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले भन्नुभयो,“अनुसन्धानपछि पुष्टि भए कानून बमोजिम कारवाही हुन्छ” 

मार्मा गाउँपालिका– वडा नं १ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी ठगुन्नाको भदौ ४ गते रातिको समयमा घरमै हत्या भएको थियो । हत्या गरिएका ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको बताइएको छ । 

ठगुन्ना एक्लै घरमा सुतिरहेका बेला हत्या भएको हो । ठगुन्नाका श्रीमती छोरा तराईतिर बस्ने र ठगुन्ना एक्लै घरमा बस्ने गरेका थिए । तराई पठाउनका लागि जम्मा गरेको रु १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दार्चुला सदरमुकामबाट घटनास्थल एक दिनको पैदल दुरीमा छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!