डिएसपी हुँ भन्दै ठगी गर्ने नुवाकोटकी महिला हवल्दार काठमाण्डौबाट पक्राउ

Posted on: 28 Aug, 2018

भदौ १२, काठमाडौं ।  महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दारलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी–७ की सीता तिवारी रहेकी छिन् । 

तिवारीविरुद्द पदीय मर्यादा विपरित ठगी गरेको उजुरी परेको थियो। सोहि उजुरीको आधारमा उनलाई प्रहरीले पक्रउ गरेको हो ।

लामो समयदेखि ‘म वकिल हुँ, न्यायाधीशलाई भनेर मुद्दा जिताउँछु’ भनेर ठगी गर्दै हिँड्ने उनका श्रीमान मनोहर तिवारीसँग मिलेर प्रहरी हवल्दार सीताले ‘म डिएसपी हुँ’ भन्दै ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ।

त्रिभुवन विमानस्थलमा कार्यरत सीताले आफ्ना श्रीमान मनोहरले अदालत परिसरमा भेटिएकालाई ‘मुद्दा मिलाउँछु’ भन्दै भ्रम सिर्जना गरेर ठगी गरेपछि पैसा माग्न बालाजुस्थित घरमा जाने पीडितहरुलाई प्रहरी नायव उपरीक्षक (डिएसपी)को बर्दी लगाएर धाकधम्की दिने गरेको उनीमाथि उजुरी परेको छ ।

पीडितहरुको जाहेरीपछि गएको साउन अन्तिम साता नै प्रहरीले मनोहर तिवारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

ठगीमा संलग्न भएको खुलेपछि भदौ ३ गते पक्राउ परेकी हवल्दार सीताको सम्बन्धमा संगठित अपराध तथा ठगी मुद्दामा अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!