दाङको घोराहीमा अतिक्रमण गरि बनाइएको टहरा भत्काइयो

Posted on: 04 Oct, 2018

असोज १८, घोराही | आफूहरुलाई सुकुम्बासी भन्दै खोला र वनको जग्गामा जबर्जस्ती बनाएका ५० टहरा आज वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १४का वडाध्यक्षले भत्काएका छन् । 

घोराहीको सेवार खोलाको वारी १३ नम्बर वडाको जग्गा र १४ नम्बरमा रहेको बहुउद्देश्यीय पशुपति महिला सामुदायिक वन समूहको जग्गामा केही व्यक्तिले जबर्जस्ती केही दिनदेखि टहरा बनाउन शुरु गरेका थिए । पटक पटक वनको जग्गा अतिक्रमण गरेपछि आफूहरुले बाध्य भएर वन कार्यालयमा उजूरी हाल्नुपरेको महिला वन समूहका सचिव कृष्णा रानाले बताउनुभयो । वन र खोला पारिको खाली जग्गा अतिक्रमण गरी टहरा बनाउँदै र बेच्दै गरेको थाहा पाएपछि सबै टहरा एकै पटक भत्काइएको उहाँले बताउनुभयो । 

बुधबार अपराह्नदेखि सेवार खोलाका छेउमा रहेको सामुदायिक वनको जग्गाका करीब ५० परिवारले एकै पटक टहरा निर्माणको काम थालेका थिए । सामुदायिक वनका पदाधिकारीले भत्काउनभ आग्रह गर्दा नमानेपछि वन कार्यालयका सुरक्षाकर्मीले उक्त टहरा भत्काएका थिए । वनको जग्गा अतिक्रमणमा परेको थाहा पाएपछि आफूहरु तुरुन्त कारवाहीमा उत्रिएको वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँले कुनै पनि हालतमा आफूहरुले वनको जग्गा अतिक्रमणमा पर्न नदिने बताउनुभयो । 

टहरा बनाउँदै गरेका स्थानीयवासी भने आक्रोशित भएका छन् । उनीहरुले आफूहरुको बास नभएकाले जति भत्काए पनि फेरि बनाउने भन्दै वनका कर्मचारीसँग झगडा गरेका थिए । पछि वडा कार्यालयबाट प्रहरी पुगेपछि भने उनीहरु शान्त देखिएका थिए । त्यहाँका केही व्यक्तिसँग बुझ्दा वनको जग्गा अतिक्रमण गर्नेहरु प्रायःको आफ्नै घर छ भने केही डेरामा बस्दै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!