नवलपुरमा नौ हजारलाई ट्राफिक शिक्षा

Posted on: 23 Nov, 2018

मंसिर ७,  कावासोती  (रासस) | सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ । 

पूर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा समेत दुर्घटनाका घटनामा कमी आउन नसकेपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले उक्त शिक्षालाई जोड दिएको हो । कार्यालयले राजमार्गसहित विभिन्न स्थानमा एक वर्षको अवधिमा सञ्चालन गरेको उक्त शिक्षाबाट नौ हजार व्यक्ति लाभान्वित भएको ट्राफिक प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार सवारी चालक दुई हजार ९००, पैदलयात्रु दुई हजार र विद्यार्थी चार हजार १०० गरी नौ हजारलाई ट्राफिक शिक्षा प्रदान गरिएको छ । सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराका साथै ट्राफिक नियमजस्ता जनचेतनामूलक शिक्षा प्रदान गरिएको उहाँको भनाइ थियो । 

नवलपुरमा विसं २०७४ पुसदेखि २०७५ मङ्सिरसम्म भएका १६२ सवारी दुर्घटनामा परी १०२ जनाले ज्यान गुमाइसकेका र गत कात्तिक महीनामा मात्र सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए । चालकको लापरवाहीकै कारण धेरै दुर्घटना हुने भएकाले चालकलाई लक्षित गरी उक्त शिक्षा प्रदान गरिएको थियो ।विद्यार्थीमार्फत घरघरमा ट्राफिक नियमका सन्देश प्रवाह हुने भएकाले विभिन्न विद्यालयमा पुगी उक्त शिक्षा सञ्चालन गरिएको प्रमुख शाहीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!