गोरखामा विपन्न परिवारलाई मौरीघार वितरण

Posted on: 15 Dec, 2018

मङ्सिर २९, गोरखा | गोरखाको दुई गाउँपालिकाका विपन्न परिवारलाई मौरीघार वितरण गरिएको छ । असल छिमेकी नेपाल पोखराले जिल्लाको गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी १०० परिवारलाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले मौरीघार वितरण गरेको हो । 

गण्डकी गाउँपालिका–६ भूम्लिचोकका २५ घरपरिवार, वडा नं ७ र ८ स्थित ध्याल्चोकमा ५० घरपरिवार र सिरानचोक गाउँपालिका वडा नं ७ मा २५ घरपरिवारलाई मौरीघार उपलब्ध गराइएको संस्थाका कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो । 

“विशेषगरी वडाका विपन्न, असाहाय, एकल महिलालाई लक्षित गरी वितरण गरेका हौँ,” कार्यक्रम संयोजक श्रेष्ठले भन्नुभयो,’ “उहाँहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले आर्थिक आर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले मौरीघार वितरण गरिएको हो ।” 

वडाले छनोट गरेका सबै परिवारका एक–एकजना सदस्यलाई संस्थाले तीन दिने मौरीपालनसम्बन्धी तालीम दिएर मौरीपालनका लागि मौरीघार वितरण गरेको उहाँले बताउनुभयो । दुबै गाउँपालिकाको वडा कार्यालयले विपन्न परिवारको पहिचान गरी सहयोगका लागि उनीहरुलाई छनोट गरेको थियो । 

संस्थाले भूकम्पपछिको जीविकोपार्जन तथा स्वास्थ्य कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई सहयोग उपलब्ध गराएको कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो । अधिकांश विपन्न र लोपोन्मुख समुदायको बसोवास रहेको गण्डकी गाउँपालिकाको भूम्लिचोक, ध्याल्चोक र सिरानचोक गाउँपालिकाको श्रीनाथकोटमा असल छिमेकी नेपालले ३०० विपन्न परिवारलाई घर निर्माणमा समेत सहयोग गरेको थियो । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!