मालपोत र नापी कार्यालय निरीक्षण

Posted on: 24 Dec, 2018

पुष ९, अत्तरिया (रासस) | भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले आज सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मालपोत तथा नापी कार्यालयको निरीक्षण गर्नुभएको छ । 

मन्त्री अर्यालले सरकारले जग्गाको कित्ताकाट गर्न रोक लगाएकाले कित्ताकाटको अनुपात हेर्न आफूले कार्यालयहरुको निरीक्षण गरेको बताउनुभएको छ । भूउपयोग नीति बनाउने तयारी गरिरहेको सरकारले जग्गाको खण्डीकरण रोक्न कित्ताकाटमा रोक लगाएको छ । तर अंशबण्डा र बसकपत्रका हकमा भने कित्ताकाट गर्न पाइने व्यवस्था छ । अंशबण्डा गर्दा कित्ताकाट गर्न पाइने व्यवस्थाको फाइदा उठाउँदै त्यही नाममा कित्ताकाट भइरहेको निरीक्षणका क्रममा पाइएको मन्त्री अर्यालले बताउनुभयो । 

मन्त्रीको निर्देशनपछि नापी कार्यालयका प्रमुख दयानन्द जोशीले जनशक्ति पर्याप्त रहे पनि भौतिक संरचना कम भएकोले भवन निर्माणमा पहल गरिदिन माग गर्नुभयो । 

यस अघि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले कैलालीका १३ वटै स्थानीय तहका तर्फबाट जिल्लामा रहेको अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न माग गर्दै मन्त्री अर्याललाई ज्ञापनपत्र बुझाउनुभयो । सो क्रममा मन्त्री अर्यालले कैलालीमा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या रहेकाले यसबारे मन्त्रिपरिषद्ले अधिकार सम्पन्न आयोग गठन गरेर समाधान गर्ने बताउनुभयो । उहाँले अधिकार सम्पन्न आयोग गठनबारे छलफल भइरहेको समेत बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!