बन्धकमा परेका ९ महिलाको भारतबाट उद्धार

Posted on: 27 Dec, 2018

माधव बेल्वासे । पुष १२, कपिलवस्तु । वैदेशिक रोजगारीको प्रलोभनमा बन्धकमा रहेका ९ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक पुर्याउने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगंजको रिङ्गो होटलमा महिनौंदेखि राखिएका ९ नेपाली महिलाको उद्धार गरी स्वदेशफिर्ता गरिएको हो ।

के.आई. नेपालको प्रयासमा सो महिलाहरुको उद्धार गरि परिवारमा पुनर्मिलन गराइएको छ । नेपालको सुनौली तथा काकर्भिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमा पार गराइएको वताइएको छ । भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखि बन्धक पारेको महिलाहरुको भनाई छ ।के.आई. नेपाल दिल्लीस्थित प्रतिनिधि नविन जोशीले दिएको जानकारी अनुसार विभिन्न ७ जिल्लाबाट फरकफरक व्यक्तिहरुसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीको लागि भारत पुगेका जनाइएको छ ।

स्वदेश फिर्ती भएका महिलालाई आवश्यक सोधपुछ तथा अनुशन्धान गर्ने क्रममा कृष्णनगर नगरपालिका का मेयर रजत प्रताप शाहले महिला उद्धार गरेकामा के आई.नेपाल लाई धन्यवाद सहित प्रसंशा गरे साथै उनले नेपाली चेलीहरुलाई कसैको प्रलोभनमा परेर जोखिमपुर्ण  यात्रा नमोल्न आग्रह गरे। 

मानव बेचविखनको बदलिदो स्वरुपसंगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवम् कठिनपुर्ण हुँदै गइरहेको छ  । जसको चपेटामा भारतको बाटो हुँदै  तेस्रो मुलक पुगेका हजारौ महिला तथा किशोरीहरु परेका छन् । रोजगारीको लागि भारतको बाटो हुँदै  तेस्रो मुलुक पुगेर उनीहरुले दुख कष्ट भोगिरहेका छन ।

वढदो वेरोजगारको समस्याले मानव बेचबिखनको जोखिममा पर्न सक्ने सम्भावना उच्च रहेकोले  यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान जानुपर्ने के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले  वताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!