राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

Posted on: 28 Dec, 2018

पुस १३, काठमाडौँ | राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उहाँकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ । 

उहाँ विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा हुनुुहुन्थ्यो । केही दिनयतादेखि अलि असहज महसुस गर्दैआउनुभएका राई गए र शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताउनुभयो ।विसं २००४ साल असोजमा जन्मनुभएका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्त पछि सामाजिक सेवामा संलग्न हुनुहुन्थ्यो । आर्दश र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत हुनुभएको थियो । 

पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आउनुभएका व्याकुल माइला र उहाँकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै ओखलढुङ्गातर्फ जानुभएको छ । स्व राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ ।स्व राईका दुई श्रीमती र व्याकुल माइलासहित तीन छोरा हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!