शारीरिक अपाङ्गता भएकालाई सम्मान

Posted on: 07 Jan, 2019

पुस २३, बागलुङ (रासस) | प्रवीण खड्का स्मृति सेवा कोष बागलुङले अपाङ्गताको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । 

बागलुङ नगरपालिका–२ का स्व प्रवीण खड्काको स्मृतिमा स्थापित कोषद्वारा आइतबार आयोजित एक समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो । अपाङ्गताको क्षेत्रमा योगदान पुर्याएबापत पर्वत, फलेवासका जगन्नाथ शर्मा नगद रु पाँच हजारसहित सम्मानित हुनुभएको हो । 

पुरस्कृत हुनेमा पर्वत घर भई बागलुङको जनताधन माविमा अध्ययनरत न्यून दृष्टियुक्त छात्रा दिनाकुमारी पाण्डे र बौद्धिक अपाङ्गतातर्फ बागलुङ विशेष बाल कक्षामा अध्ययनरत कमला थापा हुनुहुन्छ । 

त्यस्तै बहिरा व्यक्तितर्फ कोहलपुर घर भई धौलागिरि बहिरा आवसीय विद्यालय बागलुङमा अध्ययनरत विनिता डिसी र शारीरिक अपाङ्गतातर्फ धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययनरत बागलुङ, बोहोरागाउँका विष्णुप्रसाद पौडेल पुरस्कृत हुनुभएको हो । 

बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, कोषका अध्यक्ष काजी रोशन र प्रधान संरक्षक धर्मकुमारी खड्काले पुरस्कृत विद्यार्थीलाई संयुक्तरुपमा जनही रु पाँच हजारसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

शारीरिक अपाङ्गता भएका व्यक्तिको प्रतिभा र योगदानको कदर गर्दै पुरस्कार तथा सम्मान दिने गरिएको कोषका अध्यक्ष रोशनले बताउनुभयो । प्रजिअ खरेलले पुरस्कार र सम्मानले शारीरिक अपाङ्गता भएका व्यक्तिमा उत्प्रेरणा थप्ने उल्लेख गर्नुभयो । 

पुरस्कृत छात्रा पाण्डेले पुरस्कार रकम आफ्नो शिक्षामा खर्च गर्ने बताउनुभयो । ४४ वर्षको उमेरमा निधन हुनुभएका खड्काको स्मृतिमा परिवारजनले विसं २०६४ मा स्थापना गरेको कोषले वर्षेनी शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!