रु एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

Posted on: 09 Jan, 2019

पुस २५, चितवन | जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । 

कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उहाँले बताउनुभयो । 

गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु एक करोड ७१ लाख बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए । पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । 

मङ्सिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए । 

मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । 

सोही दिनबाट दर्जी फरार छन् । पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ । दर्जीका सबै बैंक खाता रोक्का गर्न लगाइएको छ । 

भरतपुर महानगरपालिका–१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोवार रोक्का गरिएको पौडेलले बताउनुभयो । रासस |


यस बिषयमा तपाइको प्रतिक्रिया...!