प्रज्ञा प्रतिष्ठानको लम्बियो पुस्तक प्रदर्शनी मेला

Posted on: 14 Jan, 2019

पुस ३०,काठमाण्डौ | आगन्तुकको सङ्ख्या बढिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनी लम्ब्याएर एक महीना गर्ने भएको छ । 

राष्ट्रिय एकता दिवसको अवसरमा १५ पुसदेखि पुस मसान्तसम्म भनिए पनि अब माघ १५ सम्मै प्रदर्शनी चल्ने प्रतिष्ठानले जनाएको छ । पुस्तक किन्नेको आगमन अपेक्षा गरेभन्दा उल्लेखीय रहेको पुस्तक प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले बताउनुभयो । अहिलेसम्म दैनिक रु २५ हजारको हाराहारीमा कारोवार भइरहेको छ । प्रतिष्ठान नाफामुखी संस्था नभएको तर यहाँको प्रकाशन धेरैको हातमा परोस् भन्ने प्रदर्शनीको उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा प्रकाशन खोजमूलक र सूचनामूलक छन्, जुन धेरै पाठकका हातमा पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।” 

प्रदर्शनीमा रहेका पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको प्रतिष्ठानले जनाएको छ । रु दुईदेखि एक हजार ४०० सम्मका पुस्तक प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा नयाँ र पुरानासँगै विभिन्न भाषाबाट नेपालीमा अनुवादित पुस्तक छन् । नयाँ पुस्तकभन्दा धेरैले पुराना पुस्तक रुचाएको ढुङ्गेलले बताउनुभयो । इतिहासका कुरा पुराना पुस्तककै आधारमा नयाँ पुस्तकमा आउने भएकाले पाठकले पुराना पुस्तक रुचाएका हुन् । उहाँले भन्नुभयो, “पुराना पुस्तक हामीले पुनःमुद्रण गरेर पनि प्रदर्शनीमा राखेका छौँ ।” प्रतिष्ठान बर्सेनि पुस महीनामा पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का अवसरमा पुस्तक प्रदर्शनी गर्दै आएको छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!