बाजुराको कोल्टी क्षेत्र सञ्चारविहीन, बैंकलगायत सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज प्रभावित

Posted on: 24 Jan, 2019

माघ १०, बाजुरा | जिल्लाको उत्तरपूर्वी कोल्टी क्षेत्रको टेलिफोन सेवा अवरुद्ध भएको छ । लगातारको हिमपातले कालाजग्रामा रहेको रेडियो रिपिटर टावरमा सौर्य विद्युत् आपूर्ति कमी भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ । विगत तीन महीनादेखि त्यस क्षेत्रमा टेलिकमका सबै सेवा आंशिकरूपमा मात्रै सञ्चालन भएको शिक्षक धीरबहादुर दानीले गुनासो गर्नुभयो । 

“टेलिकमले दिँदै आएको सम्पूर्ण सेवा घाम लागेपछि मात्र सञ्चालन हुने गरेका थिए, हिजोआज पानी परेकाले टेलिकमका कुनै पनि सेवा सञ्चालन भएका छैनन्”, शिक्षक दानीले भन्नुभयो । दिउँसो घाम लागे मात्र आफन्तसँग फोनमा कुराकानी गर्न पाइने र बिहान र बेलुका इन्टरनेट चलाउन पनि समस्या भइरहेको सो क्षेत्रका उपभोक्ताको गुनासो छ । कोल्टी क्षेत्रमा एक नगरपालिका र तीन गाउँपालिका छन् । 

कोल्टी क्षेत्रलाई लक्षित गरी बडीमालिका नगरपाकिा–७ स्थित कालाजग्रा, बूढीनन्दा नगरपालिका–२ कोल्टी–१ बाँधुमा निर्माण गरिएको टेलिकमका सव–स्टेशन टावरले काम नगरेको उपभोक्ताको गुनासो छ । टेलिफोन र इन्टरनेटले राम्रोसँग काम नगर्दा उत्तरपूर्वी क्षेत्रका चारवटा स्थानीय तह, बैंकलगायतका सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । टेलिकम शाखा कार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले त्यस क्षेत्रमा टेलिकमका सेवा अवरुद्ध हुनुको कारण सोमबारदेखिको लगातारको हिमपात र वर्षाले सौर्य ऊर्जामा समस्या उत्पन्न भएको हुनसक्ने बताउनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!