बझाङमा अवैध घरेलु मदिराको अत्याधिक ब्यापार

Posted on: 09 Feb, 2019

सम्राट सिंह । माघ २६, बझाङ । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा अवैध घरेलु मदिराको अत्याधिक व्यापार भइरहेको छ । २ वटा नगरपालिका र १० वटा गाउँपालिका भएको बझाङमा सस्तो र सुलभ पाइने भएकाले अवैध घरेलु मदिराको व्यापार बढेको हो । मदिराका कारण महिला हिंसा, चोरी,बलात्कार,लुटपाट लगायतका अपराधका घटनाहरुमा बृद्घि हुने गरेको छ । बिशेष गरी जिल्लाको सदरमुकाम चैनपुर आसपासका क्षेत्रका बासिन्दाहरुको आम्दानी मुख्य स्रोत नै घरेलु मदिरा रहेको छ ।  

जिल्ला सभा तथा जिल्ला परिषदले जिल्लालाई नै मदिरा निषेध गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन भने भएको छैन । गाउँघरका त कुरै छोडौ जिल्लाको मुटु मानिने सदरमुकाम चैनपुरमा दिन दाहाडै घरेलु मदिरा बिक्री भइरहेको सहजै देख्न सकिन्छ । जिल्लाका ठूला होटलहरुमा पक्की मदिरा र न्यूनस्तरका होटलहरुमा घरेलु मदिराको व्यापार हुने गरेको पाइएको छ । 

जिल्लामा घरेलु मदिराको व्यापारमा बृद्घि भइरहेको उद्योग बाणिज्य संघका सचिव शंकर रसाइलीले बताए । प्रहरी, प्रशासन र हामी सबै मिलेर घरेलु मदिरालाई पूर्ण रुपमा निषेध गर्न लाग्नुपर्ने उनको भनाइ छ ।   

मदिरा बिक्री वितरणका लागि झण्डै ६ सय इजाजत प्राप्त लिएका बझाङमा मदिरा व्यापारीहरुले पनि घरेलु मदिराको बढ्दो व्यापारले सरकारलाई कर तिरेर गरेको व्यवसायमा समेत असर परेको गुनासो गर्दै आएका छन ।

जिल्लामा बढ्दो घरेलु अबैध मदिराका कारण इजाजत प्राप्त व्यापारीहरुले सरकारलाई कर तिर्न समेत समस्या हुने गरेको सदरमुकाम चैनपुरमा हाम्रो टेड्रर्स मदिरा पसल संञ्चालन गर्दै आएका देवेन्द्र सिंहले बताए । जिल्लामा प्रति बोतल घरेलु मदिरा १ सय रुपिँयामा पाइने र इजाजत प्राप्त न्यूतस्तरको समेत ७ सय ५० पर्ने हुँदा मदिरा सेवन गर्ने ग्राहकहरुले समेत सस्तो पाइने हुँदा घरेलु मदिरा नै सेवन गर्ने गरेको पाइएको छ ।  

घरेलु मदिरा निषेधका लागि बजारमा प्रहरीले छापा मारी नियन्त्रणमा लिइरहेको प्रहरी निरिक्षक जनक धामीले बताए । पहिलाको तुलनामा केही कमी आएको उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!