कर्णालीमा संसदको हिउँदे अधिवेशन सुरु

Posted on: 27 Feb, 2019

फागुन १५, सुर्खेत । कर्णालीमा प्रदेश सभाको तेस्रो अर्थात हिउँदे अधिवेशन सुरु भएको छ । गत कार्तिक २१ गते दोस्रो अधिवेशन अन्त्य भएको थियो प्रदेश सभाको तेस्रो अधिवेशन करिब चार महिनापछि बुधबार सुरु भएको हो । 


संसद हिउँदे अधिवेशन सुरु भएसँगै सांसदहरुले सरकारका कामको मुल्याकंन गर्न थालेका छन् । एक वर्षको अवधिमा प्रदेश सरकारको गति सुस्त भएको सांसदहरुको गुनासो छ । बुधवारको संसद बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि सत्ता र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए । अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था फरक खालको भएकाले पनि सत्ता र प्रतिपक्ष मिलेर विकासमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । प्रदेश सांसद यामलाल कँडेलले केन्द्र र प्रदेशबीच देखिएको अधिकार बाँडफाँड लगायतका समस्या समाधान गर्न प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए । जनताले नतिजा खोजेको भन्दै उनले प्रदेश सभालाई विश्वासमा लिएर काम गर्न प्रदेश सरकारलाई आग्रह गरे । गठन भएको एक वर्षमा प्रदेश सरकारले कर्मचारी अभाव र केन्द्रले आवश्यक कानुन निर्माण नगर्दा काम गर्न नसकिएको जनाएको छ । बैठकमा सांसद शोशिला शाहीले प्रदेशले एक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेको बताइन् । बुधवारको बैठकमा दुइ वटा विधेयक टेबुल भएका छन् । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेश सार्वजनिक प्रशारण र शुसासन कायम गर्ने सम्बन्धी विधेयक संसद बैठकमा टेबुल गरेका हुन् । संसदको अर्को बैठक शनिवार बस्नेछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!