उपत्यकाबाट २८ मेट्रिक टन फोहोर व्यवस्थापन

Posted on: 02 Mar, 2019

पूर्णप्रसाद मिश्र | फागुन १८, काठमाडौँ | उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, मुक्तिनाथ विकास बैंकलगायत दुई दर्जन संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 

नदी किनारको ललितपुरतिरको भागमा म्याद सकिएका औषधि ल्याएर गाडी फोहर बनाउँदै आएको इञ्जेक्सन नेपाललाई महानगरपालिकाले रु २० हजार जरिवाना गराएको छ । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २६५ हप्तामा महाशिवरात्रिको तयारीस्वरुप गौरीघाटबाट गुह्येश्वरी मन्दिर अघिको नदी किनारसम्म सफाइ गरियो । यसैगरी वाग्मती सफाइ अभियानका अभियानकर्मीले दुई वर्षपछि मकर मेला लाग्ने पनौतीको त्रिवेणीधाममा सफाइ गरेका छन् । पुण्यवती, लीलावती र रुद्रवती गरी तीन नदीको सङ्गमस्थलमा सफाइ गरिएको छ । 

सफाइमा स्थानीय जनप्रतिनिधि, वाग्मती सफाइ अभियानकर्मीलगायत स्थानीयवासीको सक्रिय सहभागिता थियो । दुवै सफाइ अभियानबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

रुद्रमती सफाइ अभियानको २५८ हप्तामा रातोपुल–सेतोपुल–मैतीदेवी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका– ३० सहितका २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

विष्णुमती सफाइको २३० औँ हप्तामा तारकेश्वर नगरपालिका–१० क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनुभयो । सफाइमा वडाध्यक्ष अमृत थापा, स्थानीय महिला समूह, तीनवटै सुरक्षा निकाय, तारकेश्वर र विनायक सफाइ कम्पनी प्रालिको पनि सक्रियता थियो । 

तिलगङ्गा क्षेत्रको वाग्मती सफाइको २०४ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तिलगङ्गा महिला समूहलगायत संस्थाको सक्रियतामा सफाइ अभियान भइरहेको छ । 

चक्रपथ सफाइको ९९ औँ हप्तामा नारायणगोपाल चोकबाट ग्रीनसिटी अस्पतालसम्म सफाइ गरियो । २८० अभियानकर्मीको सक्रियतामा भएको सफाइमा १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले राससलाई जानकारी दिनुभयो । 

विसं २०७३ वैशाख २ गतेदेखि शुरु भएको सफाइ अभियान यही फागुन २५ गते शनिबार १०० हप्ता पूरा गर्दैछ । १०० हप्ता पूरा गरेको अवसरमा अर्को शनिबार विशेष कार्यक्रमको तयारी गरिएको चक्रपथ सफाइ अभियानकर्मी तिलक बस्नेतले बताउनुभयो । 

आलोकनगर सफाइको ९९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले बताउनुभयो । सडक एवं नदी किनारमा रोपिएका बिरुवा संरक्षण गरी हुर्काउने सम्बन्धमा टोलवासीबीच छलफल पनि भएको उहाँले बताउनुभयो । 

चक्रपथ बाफल खण्ड सफाइको ८१ औँ हप्तामा कलङ्कीचोकबाट स्युचाटार पुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । 

आइतबारदेखि वीरगञ्जमा शुरु हुने नेपालकै पहिलो अश्वमेध महायज्ञको पूर्वसन्ध्यामा आज त्यहाँ पनि वाग्मती सफाइ महाअभियानका अभियानकर्मीले सफाइ गरेको गोविन्द काफ्लेले जानकारी दिनुभयो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानका प्रभावले हालसम्म देशका १०३ स्थानमा साप्ताहिक रुपमा सफाइ जागरण भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!