बुटवलमा सेवाग्राहीका लागि सहायता कक्ष

Posted on: 11 Mar, 2019

फागनु २७, खस्यौली | बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष शुरु गरेको छ । 

सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासा आइरहेका बेलामा जनप्रतिनिधिले नै सहजीकरण गर्ने गरी सम्भवतः मुलुकमै पहिलोपटक यस्तो सेवाग्राही सहायता कक्ष बुटवलमा शुरु गरिएको हो । 

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सेवाग्राहीका काममा सहजीकरण ल्याउने र परिवर्तनको समेत अनुभूति दिलाउने लक्ष्यका साथ यस्तो कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो । 

उहाँले कुनै पनि जनप्रतिनिधिले जायज काममा पनि आनाकानी गर्ने, अतिरिक्त लाभको आशा गर्ने र सेवाग्राहीलाई झञ्झट दिने गरेमा उजुरी पेटिकामा विवरणसहित उजुरी दर्ता गराउनेसमेत व्यवस्था मिलाइएको जानकारी दिनुभयो । त्यस्ता उजुरीको छानबिन गरेर सम्बन्धित व्यक्तिलाई आवश्यकता अनुसारको निकायबाट जवाफदेही बनाइने बताउनुभयो । 

उपप्रमुख गुमादेवी आचार्यले नागरिक वडापत्रलाई व्यावहारिक बनाउने गरी कक्ष सञ्चालन गरिएको बताउनुभयो । सेवाग्राहीका गुनासा कम गर्ने र सेवाप्रवाहलाई चुस्त बनाउने उद्देश्यले नौलो थालनी गरिएको कार्यपालिका सदस्य तथा सहायता कक्षका संयोजक रञ्जित शेरचनले बताउनुभयो । 

जनप्रतिनिधि सेवाग्राही सहायता कक्षमा कार्यपालिका सदस्य नै पालैपालो निरन्तर रहने गरी समयतालिका मिलाइएको नगर कार्यपालिका सदस्य तथा वडा नं ६ का अध्यक्ष जगदीशचन्द्र आचार्यले बताउनुभयो । 

टाइमकार्ड लागू 

बुटवल उपमहानगरपालिकाले भवन संहिताको पूर्ण कार्यान्वयनमा जोड दिँदै सेवाग्राहीका लागि घर नक्सापाससम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइमकार्ड लागू गरेको छ । उपमहानगरपालिकामा घर बनाउने कुनै पनि सेवाग्राहीले आफूले पालना गर्नुपर्ने नियम र भवनसंहिताको मापदण्डका सबै प्रक्रियाका बारेमा पूर्ण जानकारीसहितको पुस्तिका प्रकाशन गरिएको उपहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

उपमहानगरपालिका प्रमुख सुवेदीले उक्त व्यवस्थाको शुरुआत गर्दै सेवाग्राही हेमबहादुर रावललाई त्यससम्बन्धी इजाजतपत्र, घर नक्सापाससम्बन्धी जानकारी पुस्तिकासहितका कागजात हस्तान्तरण गर्नुभयो । 

उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ । गत वर्ष वैशाख १ गतेदेखि यस्तो प्रणाली शुरु गर्ने बुटवल उपत्यका बाहिरको पहिलो नगर हो । यस प्रणालीअन्तर्गत हालसम्म एक हजार २७६ नक्सा दर्ता भएको र ३५० ले सम्पन्न प्रमाणपत्र लिइसकेको इञ्जिनीयर सन्तोष पाण्डेले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!