प्रेमिकाको हत्या गरि हातखुट्टा बाँधेर कोशी बगाईदिए, २६ दिनपछि भेटियो शव

Posted on: 27 Mar, 2019

चैत १३, विराटनगर । मोरङ जिल्लाको बेलबारी वार्ड नम्बर ४ कि रमिला राईको शव २६ दिनपछि सप्तकोशी नदीमा फेला परेको छ । बुधवार माछा मार्ने क्रममा स्थानीयले सेतो बोराभित्र शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

रमिला फागुन १७ गते शुक्रबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको हत्या आरोपमा पक्राउ परेका नेकपा मोरङका स्थानीय नेता योगेन्द्र गुरुङको बयानका आधारमा रमिलाको शव खोजिरहेको थियो । तर, भेटाउन सकेको थिएन । 

मोरङका प्रहरीले कोशी नदीमा शव भेटिएपछि पोष्टमार्टमका लागि पठाएको छ । गुरुङले गत फागुन १७ गते शुक्रवार मध्यरातमा २६ वर्षीया राईको हत्या गरी शव सप्तकोशीमा फालेको स्वीकार गरेका थिए ।  हत्या स्वीकारेपछि प्रहरीले कोशी ब्यारेज केन्द्रित भएर शवको खोजी गरेको थियो तर भेट्न सकेको थिएन । 

हत्या भएकी रमिला गुरुङकी प्रेमिका हुन् । दुवै विवाहित हुन् तर रमिला श्रीमानसँग डिभोर्स भएर माइतीमा बस्दै आएकी थिइन् । 

रमिला बेपत्ता भएको उजुरी आएपछि अनुसन्धानका क्रममा प्रहरीले फागुन २४ गते गुरुङलाई इलामबाट पक्राउ गरेको थियो । बयानका क्रममा गुरुङले रमिलाको हत्या गरेर बा१५च ७९१६ नम्बरको आफ्नै कारमा राखेर शव कोशी ब्यारेज पुर्‍याएर फालेको बताएका थिए ।

गुरुङले दिएको बयान र मृतकको अवस्था मिलेको प्रहरीले जनाएको छ । गुरुङले बयानमा भने जस्तै रमिलाको शव बोरामा भेटिएको थियो । शव हातखुट्टा बाँधेको अवस्थामा कोशी ब्यारेजको सप्तरीतर्फको ५२ नम्बर ढोकामा भेटिएको प्रहरीले जनाएको छ । 


हत्या भएको दिन राई र गुरुङ सुन्दरहरैँचाको विराटचोकस्थित हवना रेष्टुरेण्टमा गएको खुलेको छ। त्यहाँ मादक पदार्थ सेवन गरेर शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किएका थिए। उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडेपछि रमिलालाई भने गाडीमै लिएर घरतर्फ गएका थिए। त्यसपछि गुरुङले रमिलाको हत्या गरेको बुझिएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका राई र गुरुङबीच मादक पदार्थ सेवन गर्दा विवाद भएपछि हत्या गरेको गुरुङले दिएको बयानमा भनिएको छ ।

रमिलाको खोजी गर्न भन्दै गुरुङले समेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर ‘गर्लफ्रेन्ड’ हराएकाले तनाव भएको बताएका थिए । १८ गते रमिलाको घर पुगेका गुरुङले प्रहरीलाई हुलिया र हराएको निवेदन लेख्न लगाए । उनले पनि प्रहरीलाई टेलिफोन गरी खोजी गरिदिन आग्रह गरे । तर, आफूमाथि अनुसन्धान केन्द्रित हुन थालेपछि गुरुङ भागेर इलाम पुगेका थिए । इलामबाट पक्राउ परेपछि भने उनले हत्या गरेको स्वीकार गर्दै बयान दिएका थिए ।

घटना भएको दिनको एक ‘सीसीटिभी फुटेज’ हेरेपछि घटनामा गुरुङको संलग्नता रहेको देखाएको थियो । १७ गते राति ११ बजे घर आएको बताएका गुरुङको गाडी राति साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको सीसी क्यामेरामा देखिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!