जिल्ला प्रहरी कार्यालय धादिङको सार्वजनिक सुनुवाइ

Posted on: 28 Mar, 2019

चैत १४, धादिङ (रासस) | अर्काको मुख हेर्न छाडी आफ्नो घरवरपर क्षेत्रको सरसफाइ आफैँ गर्ने बानी बसाल्न नगरवासीसँग निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले आग्रह गर्नुभएको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङले लैङ्गिक हिंसा कार्यक्रम, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रणको अवस्था र सार्वजनिक सुनुवाइसम्बन्धी एकसाथ आयोजना गरेको कार्यक्रममा नगरवासीले नगरभित्र रहेको विभिन्न समस्याप्रति ध्यानाकर्षण गराउँदा नगरप्रमुख ढुङ्गानाले समस्या समाधानका लागि भइरहेको प्रयास माथि प्रकाश पार्दै त्यस्तो आग्रह गर्नु भएको हो । कार्यक्रमका सहभागीहरुले धादिङबेसी बीचबजारमा रहेको बसको टिकट काट्ने काउन्टरको समस्या, सार्वजनिक शौचालयको समस्या, डम्पीन साइड र बजार सरसफाइको समस्या ट्रार्फिक व्यवस्थापन , घर अगाडि निर्माण सामग्री राख्ने, पसल थाप्ने, राती अबेरसम्म होटेल खुल्ला राख्ने, फुटपात हुँदाहुदै सडकमै पैदल यात्रु हिड्ने , सुरक्षित वधशालाको अभाव प्रति नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । 

प्रहरी उपरिक्षक राजकुमार वैधवारले जिल्ला प्रहरी कार्यालयबाट सम्पादन गरिएको क्रियाकलापबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जनताको सहयोग र साझेदारीबाट प्रहरीले सम्पादन गर्दै आएको कार्य प्रभावकारी रहेको बताउनु भयो । कार्यक्रममा यातायात क्षेत्रबाट बद्री सुवेदी, उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री , नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी लगायतको सहभागिता रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!