सफा सडक बनाउन ‘स्टिकर अभियान’ सुरू

Posted on: 06 Apr, 2019

चैत २३, पर्वत - पर्वत जिल्लाभित्र पर्ने राजमार्ग क्षेत्रलाई सफा सडक बनाउने अभियान सुरू भएकाे छ । सडकमा फोहर नफाल्न आग्रह गर्दै पछिल्लो समयमा जनचेतना जगाउने अभियान तीव्र बनेको छ ।

सडकलाई स्वच्छ र हराभरा बनाउने अभियानअन्तर्गत पर्वत जिल्ला भएर चल्ने सवारी साधनमा जनचेतनामूलक सामग्री टाँस्ने ‘स्टिकर अभियान’ सुरु गरिएको छ । यात्रुले जथाभावी रुपमा फोहर फाल्न थालेपछि सरसफाइसम्बन्धी जनचेतना जगाउने र सचेतसमेत बनाउने उद्देश्यले ‘स्टिकर अभियान’ चलाइएको हो ।

यात्रुले फालेका खाने कुरा र फोहरले सडकमा दुर्गन्ध बढेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी पर्वतले सवारी साधनमा सबै यात्रीले देख्ने गरी ‘पर्वतको सडक फोहोर फाल्न निषेध’ भन्ने नारासहितको स्टिकर राखेका छन् । पर्वतमा हालसम्म पाँच सयभन्दा बढी सवारी साधनमा स्टिकर टाँस्ने काम भएको छ । 

सडक फोहर फाल्न निषेध भन्ने नारासहितको सन्देश पर्वतबाट देशका विभिन्न ठाउँमा छुट्ने सवारी साधनमा टाँस्ने अभियान शनिबारदेखि सुरु गरिएको जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए । “धेरै यात्रुले बसमा आवतजावत गर्दा खाने र जथाभावी फोहर प्याक्दा दुर्गन्ध फैलिँदै आएको छ”, प्रमुख तिवारीले भने । स्टिकर टाँस्ने अभियानपछि यात्रुले जथाभावी फोहर फालेमा कारवाही गर्ने तयारी पर्वत प्रहरीको छ । अभियानले पर्वतलाई स्वच्छ हराभरा बनाउनेमा आफू विश्वस्त रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!