नेविसंघद्धारा किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलनलाई आर्थिक सहयोग

Posted on: 06 May, 2019

चिसाङ शेर्पा | बैशाख २३, खोटाङ | खोटाङमा हुने किरात राई बिद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलनका निम्ति नेपाल विधार्थी संघ जिल्ला कार्य समिति खोटाङले आर्थिक सहयोग गरेको छ । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौं, किरात स्वयत्त राज्य निर्माण गर्न गाउँ नगर लागौं’ भन्ने नारासहित आगामी बिहीबारदेखी शनिबारसम्म दिक्तेलमा हुने सम्मलेनका लागि नेविसंघले ४८ हजार १ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।


नेविसंघको सहकार्यमा विभिन्न पेशामा आवद्ध ५२ जना व्यक्तिहरुबाट संकलित रकम आईतबार दिक्तेलस्थित होटल सगरमाथामा एक कार्यक्रमका बिच आयोजकलाई प्रदान गरिएको छ । संकलित रकम खोटाङ कांग्रेसका सभापति नरेश कुमार श्रेष्ठले किरात राई बिद्यार्थी संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राईलाई हस्तान्तरण गरेका हुन् । राज्यमा पुर्ण लोकतन्त्रको पक्षमा सवै सम्प्रदायका विधार्थीहरुको समान अधिकार र गुणस्तरीय शिक्षा एवम् जातिय सद्भावका पक्षमा लाग्नमा सम्मेलनलाई प्रेरणा मिलोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको नेविसंघका सभापति राज कुमार वस्नेतले बताए । साथै विधार्थी संस्थाहरुबिच आपसी रुपमा पारस्पारिक सहयोग रहने पनि नेविसंघले उल्लेख गरेको छ ।

यसैविच, राष्ट्रिय सम्मलेनका लागि नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तीराम राई र खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले व्यक्तिगत रुपमा १०÷१० हजार, शकुन राईले ४० हजार, गिता शंकरले २१ हजार, नेर्पाका वीर वहादुर राईले १६ हजार, उदयपुरका वीर वहादुर राईले १० हजार, भुवन राईले पाँच हजार, धनिराम राई र भोगिन राईले दुई÷दुई हजार आर्थिक सहयोग गरेका छन् । विभिन्न १९ जिल्लाका किरात राई विद्यार्थी संघको प्रतिनिधि एवम् पर्यवेक्षक गरी सम्मेलनमा करिब ५ सयको सहभागीता रहनेछ । राष्ट्रिय सम्मेलनले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने अपेक्षा गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!