महाकाली नदीमा डुबेर बेपत्ता भएका सहायक लेखापालको शव फेला

Posted on: 08 May, 2019

वैशाख २५, परशुरामधाम । महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ । शनिबार महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको आज शव फेला परेको हो ।

परशुराम नगरपालिका–५ परशुरामधामदेखि  तीन किलोमिटर टाढा कल्पटेखानमा भारतीय क्षेत्रमा महाकाली किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पालका घरपरिवारले शव उहाँकै भएको पुष्टि गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरेर शव नदीबाट निकालिएको हो । जोगबुडा अस्पतालमा शव परीक्षणपछि परिवारलाई बुझाएको पाण्डेले बताउनुभयो । शनिबार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा पाल बेपत्ता भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!