सुझाव संकलनमा खानेपानीका गुनासै गुनासा

Posted on: 11 May, 2019

सम्राट सिंह । बैशाख २७, बझाङ । जयपृथ्वी नगरपालिकाको आगामी आर्थिक बर्ष २०७६।७७ को योजना तर्जुमा सम्बन्धि सुझाव संकलन कार्यक्रममा अधिकांस गुनासा खानेपानीका रहेका छन । 


जिल्लाको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार हुँदा समेत सरोकारवालाहरुले चाँसो नराखेको अधिकांस सहभागीले गुनासा गरेका हुन ।

झण्डै ७ सय घरधुरी बसोबास गर्ने सदरमुकाम चैनपुरमा खानेपानी उपभोक्ता समितिले बिहान – बेलुका आधा घण्टा खानेपानी दिने गरेको छ । 

धारामा खानेपानी नआउँदा मुखले तान्नुपर्ने बाध्यता भएको स्थानिय सरिता जोशीले बताईन । मुखले तानेपछि मात्र थोरै पानी धारामा खस्ने गरेको  र धरामा खानेपानी नआउँदा महिलाहरुले सास्ती भोग्नु परेको उनको भनाइ छ । 

खानेपानी समितिले आधा घण्टा खानेपानी छोडेपनि कसैको धारामा पानी आउने कसैको धारामा पानी नआउने समस्याका कारण खानेपानी अभाव भएको हो ।

नगरपालिकाले खानेपानीको दिगो व्यवस्थापनका लागि योजना बनाई जनतालाई खानेपानीमा सहज गर्नुपर्ने स्थानिय ममता शाहले बताइन् । 

सदरमुकाम चैनपुरको शान्तिमार्गमा धारामा पानी नआउँदा महिलाहरु बिहान – बेलुका मुखले खानेपानीको पाइप चुस्न लागेको देख्दा महिलाहरु लाई खानेपानी नपाएर कति पिडा छ सहजै देख्न सकिन्छ  । 

यता खानेपानी उपभोक्ता समितिका कार्यालय सचिव कमल राम जोशीले मुहानमा पानी कम भएर ट्याङकीमा पानी नभरिने समस्याका कारण बजारमा खानेपानीको अभाव भएको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!