प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

Posted on: 13 May, 2019

 वैशाख ३० काठमाडौँ । आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच आज जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ । 

काठमाडौँ महानगरपालिका र लान्जोउ नगरबीच भगेनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने समझदारी भएको छ । यहाँ आज आयोजित कार्यक्रममा प्रादेशिक तहको समझदारीमा मुख्यमन्त्री डोरमणि पौडेल र गभर्नर टाङ रेन्जियान तथा महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुखमा काइयुनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । 

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले दुवै मुलुकका जनताको आर्थिक विकास र समृद्धिका लागि लगानीका नयाँ सम्भावना र क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले उक्त समझदारीले आफ्नो प्रदेशमा जैविक विविधताका साथै प्राकृतिक स्रोत, खनिज पदार्थ रहेको र लगानीका पर्याप्त सम्भावना रहेकाले त्यसलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । 

उहाँका समकक्षी गभर्नर रेन्जियानले आफ्नो प्रान्तका प्राकृतिक स्रोतका साथै विकासका विभिन्न आयामका बारे बताउनुभयो । महानगर प्रमुख शाक्यले दुवै पक्षबीच विभिन्न छलफलपछि गरिएको समझदारीले कृषि, ऊर्जा, पर्यटनलाई विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उपप्रमुख काइयुनले दुवै मुलुकबीचको पुरानो सम्बन्धलाई जनस्तरबाट प्रवद्र्धन गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!