आयोगको फाराम भर्ने समय थप

Posted on: 18 Jun, 2019

 असार ३, काठमाडौँ  । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो । 

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार असार १० गतेसम्म एकल दस्तुर तथा असार १७ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने सयम निर्धारण गरिएको छ । अनलाइन फाराम भर्दा आयोगको सर्भरमा अत्यधिक चाप भएकाले दरखास्त अपलोड गर्न कठिनाई भएका कारण म्याद थप गरेको उहाँले बताउनुभयो । आज एकल दस्तुरमा फाराम भर्ने अन्तिम समय तथा दोब्बर दस्तुरमा असार १० गतेसम्म समय तोकेको थियो । 

“अत्यधिक आवेदनका कारण आयोगको सर्भरमा गत जेठ ३० गतेदेखि चाप बढेको थियो”, सुवेदीले भन्नुभयो । आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारीको माग गरेको छ । अहिलेसम्म करीब एक लाख ७२ हजार ४४४ जनाले फाराम भरेका छन् । आवेदकले अनलाइन फाराम भर्नमा समस्या भएको भन्दै समय थप गर्न माग गर्दै आएका थिए । 

गुठी विधेयक फिर्ता

सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिनुभयो । सो विधेयक राष्ट्रियसभामा पेश भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!