साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान

Posted on: 21 Jun, 2019

असार ६, वासिङ्टन । अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही घण्टा नबित्दै अमेरिकी संसदले पनि यस्तो निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साउदी अ‍ेरेबियालाई अमेरिकी हातहतियार बिक्री गर्ने अडान राख्दै आउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियासँग करिब ८ अर्ब १० करोड अमेरिकी डलर बराबरको हातहतियार बिक्रीमा सहमति जनाइसक्नु भएको छ ।

अमेरिकी संसदको माथिल्लो सदनमा रिपब्लीकन र डेमोक्र्याट्स पार्टीका सांसदहरुले साउदी अरेबियालाई हतियार बिक्री रोक्नुपर्ने विधेयकमा मतदान गरेका थिए । उक्त विधेयक ५३–४५ ले पारित भएको थियो ।मध्यपूर्वका मुलुकमा तनाब उत्पन्न भएकै समयमा अमेरिकी सिनेटमा यस्तो मतदान भएको हो । अमेरिकाले अत्याधुनिक लडाकू विमान, लडाकू विमानको मर्मत तथा अरु उच्च क्षमताका हातहतियार बिक्री गर्न चाहेको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी तल्लो सदन कङ्ग्रेसलाई बेवास्ता गर्दै मध्यपूर्वको क्षेत्रीय स्थायित्वमा असर पर्न थालेको जनाउँदै साउदी अरेबियालाई हतियार बिक्री गर्ने आदेश दिनुभएको थियो । 

कङ्ग्रेसले यमन संकटका सन्दर्भमा साउदी अरेबियालाई हतियार बिक्री गर्न नहुने भन्दै एक विधेयक पारित गरिसकेको छ । तर उक्त विधेयकलाई राष्ट्रपति ट्रम्पले गत अप्रिलमा विशेषाधिकार (भिटो) प्रयोग गरी अस्वीकार गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघले यमनमाथि भएको साउदी गठबन्धनको आक्रमणबाट यमनमा मानवीय संकट उत्पन्न भएको जनाएको छ । 

बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियाम फक्सले बताउनुभयो । बेलायती एक अदालतले सरकारमाथि हतियार बिक्रीका सन्दर्भमा पुनर्विचार गर्न केही दिनअघि आदेश दिएको पनि मन्त्री फक्सले जानकारी दिनुभयो ।

“हो, हामीलाई अदालतको आदेश चित्त बुझेको छैन र उच्च अदालतमा हामी अपिल गर्ने तयारीमा छौं,” मन्त्री फक्सले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । तर उहाँले साउदी अरेबिया र उसका साझेदार मुलुकलाई यमनी द्वन्द्वमा प्रयोग हुनेगरी हातहतियार बिक्री स्थगित गरिएको बताउनुभयो ।

बेलायतले यमनी द्वन्द्व शुरु भएको सन् २०१५ यतामात्र करिब ६ अर्ब ४० करोड अमेरिकी डलर बराबरका हातहतियार साउदी अरेबियालाई बिक्री गरेको छ । 

जर्मनीले पत्रकार जमाल खशोग्जीको हत्यापछि सन् २०१८ देखि नै साउदी अरेबियालाई हातहतियार बिक्री गर्न छाडेको छ । जर्मनीले युरोपेली युनियनमा आबद्ध मुलुकहरुलाई पनि साउदी र यसको गठबन्धनका मुलुकलाई हतियार बिक्री रोक्न आह्वान गरिरहेको छ । रासस-एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!