काठमाडौँमा सुई आतंक मच्चाउने पक्राउ

Posted on: 28 Jun, 2019

असार १३, काठमाडौँ  |  काठमाडौँको विभिन्न स्थानमा महिला माथि सुइ आक्रमण गरि आतंक मच्चाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ | 

महानगरीय प्रहरी परिसर, काठमाडौँले काठमाडौँको स्वयम्भू र सोह्रखुट्टे एरियामा युवतीहरुलाई जथाभावी सुई घोच्दै हिँडने रामेछापका सन्तोष कार्कीलाई बिहीबार राति १० बजेतिर महाराजगञ्जबाट पक्राउ गरी शुक्रबार बिहान पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

पीडित युवतीहरुले दिएको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन्  ।

उनी काठमाडौँको महाराजगञ्जमा आफ्नै दाजुसँग मिलेर रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् |  बेलुका ९  बजेतिर आफ्नो रेष्टुरेन्टबाट फर्कने क्रममा स्वयम्भू र सोह्रखुट्टे क्षेत्रमा एकान्तमा भेटिएका महिलाहरुमाथि काठको छेस्को वा धलौटको काटीले घोच्ने गरेको उनको प्रारम्भिक बयानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

उनले प्रयोग गर्दै आएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

केही दिन अघिदेखि विभिन्न समाचार माध्यम र सामाजिक सञ्जालमा समेत यो घटनाले सनीसनी मच्चाएपछि प्रहरीले पीडित युवतीको उजुरीको आधारमा खोजतलासको कामलाई तीव्रता दिएको थियो ।यस घटनामा हालसम्म कार्कीको मात्रै संलग्नता रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!