धर्तीमाताको नाममा युवतीमाथि दुव्र्यवहार गर्ने एक महिला पक्राउ

Posted on: 28 Jun, 2019

असार १३, काठमाडौँ  । काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा एक युवतीमाथि दुव्र्यवहार (कुटपिट) गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौँको बालाजुबाट पक्राउ गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएकोे छ । 

यही असार ५ गते मन्दिरमा उनले घटना गराएको  प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सो घटनाबारे  जानकारी दिँदै परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले उपचारको नाममा युवतीमाथि दुव्र्यवहार गर्ने कुँवरलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो घटनामा  दुव्र्यवहार भएकी युवती भने सम्पर्कमा नआएकीले खोजी भइरहेको छ । 

विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएको श्रव्यदृष्यमा मानिसको ठूलो भीडमा ती महिलाले एक युवतीलाई कुटपिट गरिरहेको देखाइएको थियो ।  घटना हुँदा सो स्थानमा नेपाल प्रहरीका कर्मचारीसमेत देखिएकोबारे पत्रकारले सोधेको जिज्ञासामा परिसरका प्रमुख सुवेदीले भीड नियन्त्रण गर्न र मानिसको सुरक्षाका लागि आएकाले कुनै पूर्वघोषित कार्यक्रममा नखटिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!