सुदूरपश्चिममा छैनन् सरकारी सर्पदंश उपचार केन्द्र

Posted on: 05 Jul, 2019

विमलबहादुर विष्ट | असार २०, डोटी | सुदूरपश्चिम प्रदेशमा सर्पले डसेका बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा बर्सेनी यहाँका स्थानीयवासीले अकालमै ज्यान गुमाउन थालेका छन् । यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने एण्टी स्नेक भेनम नभएका कारण उपचार हुन नपाउँदा बिरामीको मृत्यु हुन थालेको हो । सरकारले सरकारीस्तरबाट नै सर्पदंश उपचार केन्द्र नखोलेका कारण यहाँ दिनानुदिन समस्या उत्पन्न हुन थालेको स्थानीयवासीको आरोप छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले दिएको जानकारीअनुसार गत वर्ष मात्रै सुदूरपश्चिमभरिमा सर्पदंशका कारण ४३ जनाको मृत्यु भएको छ ।

समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याइएका बिरामीहरुले तत्काल औषधि नपाउँदा उनीहरुको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्षमा मात्रै कैलाली, बझाङ, अछाम तथा डोटीमा गरी पाँच जनाको विषालु सर्पले टोकेका कारण ज्यान गइसकेको छ । जिल्ला अस्पतालले निःशुल्क रुपमा वितरण गर्ने एण्टी स्नेक भेनम राखिएका यहाँका कतिपय अस्पतालहरुमा पनि उपचार सेवा भरपर्दो नभएको शिखर नगरपालिका–२ कालागाढका स्थानीयवासी रामबहादुर कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “स्पेसल रुपमा सर्पदंशको उपचार केन्द्र छैन, केही अस्पतालमा औषधि भए पनि सो विषयमा दक्ष चिकित्सक नहुँदा बिरामीले ज्यान गुमाउन थालेका छन् ।”गर्मीयामको समयमा सुदूरपश्चिममा दर्जनौँ सर्पदंशका बिरामी आउने गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दीपायलले जनाएको छ । जसमा आधा जति  सर्पदंशका बिरामीको ज्यान जाने गरेको सो निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

सुदूरपश्चिम प्रदेशमा सर्पदंशका बिरामीको उपचार केन्द्र नभएका कारण यहाँका सर्पदंशका बिरामीहरु उपचारका लागि छिमेकी जिल्ला बाँके तथा भारतका विभिन्न शहरमा धाउन बाध्य भएको स्थानीयवासी बताउँछन् । प्रदेश सरकारले सुदूरपश्चिमका सर्पदंश उपचार केन्द्र राख्ने चासो नदिएका कारण यहाँका स्थानीयवासीको अकालमै ज्यान जान थालेको स्थानीयवासीको आरोप छ । 

सरकारीस्तरबाट सर्पदंशको उपचार केन्द्र नभए पनि नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहतको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री नं २५ वाहिनीअन्तर्गतको कञ्चनपुरको अर्जुनीमा देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ । कालीरक्षा गणले खोलेको सर्पदंश उपचार केन्द्रमा स्थापना कालदेखि हालसम्म ५४५ जनाको उपचार गरिएको सो गणका गणपति तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिनुभयो । 

यहाँका पहाडी क्षेत्रमा सर्पले डसेका बिरामी समयमै सेनाले खोलेका सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसकिँदा बिरामीको ज्यान जान थालेको छ । यहाँको तराई क्षेत्रमा गोमन र करेत जस्ता अति विषालु सर्पको बिगबिगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वेलगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ । विषालु सर्पले डसेपछि बेलैमा उपचार केन्द्र नलगेमा बिरामी मृत्युको मुखमा पुग्ने गरेको शैलेश्वरी अस्पताल दीपायलका चिकित्सक ललित लिम्बूले बताउनुभयो । 

उता सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव झङ्करबहादुर विष्टले सुदूरपश्चिममा सर्पदंशको सरकारी उपचार केन्द्र नभएर स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले त्यसलाई ध्यानमा राखेर मन्त्रालयले सर्पदंश उपचार केन्द्र खोल्ने निर्णय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “कैलालीको सेती अञ्चल अस्पतालमा सर्पदंश उपचार केन्द्र खोल्ने भन्ने निर्णय भएको छ, सोही अनुरुप हामी चाँडै नै उपचार केन्द्र खोल्ने तयारीमा छौँ ।”करेन्ट लागेर मृत्यु भएका परिवारले राहत पाएनन्

गत वर्ष असार १९ गतेका दिन करेन्ट लागेर लागेर मृत्यु भएका जिल्लाको आदर्श गाउँपालिका–१ चाँसी गाउँका स्थानीयवासीले अहिलेसम्म राहत पाएका छैनन् । गाउँमा रहेको विद्युत्को पोल सार्ने क्रममा करेन्ट लागेर चाँसी गाउँका पाँच जना स्थानीयवासीको एकै चिहान भएको थियो । करेन्ट लागेर मृत्यु भएका परिवारलाई नेपाल विद्युत् प्राधिकरणले किरिया खर्चबापत जनही रु २५ हजार र आदर्श गाउँपालिकाबाट रु ३० हजारबाहेक अहिलेसम्म सरकारले कुनै राहत नदिएको स्थानीयवासी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासिचव दीपकबहादुर खड्काले बताउनुभयो । 

उक्त घटनामा परी सो गाउँपालिका–१ का ३० वर्षीय जयन्द्र खड्का, सोही गाउँका २३ वर्षीया नेपाल प्रहरी जवान लोकेन्द्र खडका, २४ वर्षीय  वीरेन्द्र खड्का, २४ वर्षीय दीपबहादुर खडकाको घटनास्थलमा नै मृत्यु भएको थियो भने २५ वर्षीय एक जना घाइते नारायण खड्काको काठमाडौँस्थित कान्तिपुर बर्निङ्ग अस्पतालमा उपचारका क्रममा मृत्युु  भएको थियो । 

सरकारले समयमै राहत नदिए आन्दोलन गर्ने तयारीमा मृतकका परिवार रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!