गुल्मीमा पहिरोमा पुरिएर ६ को जानाको ज्यान गयो, २ जना घाइते

Posted on: 23 Jul, 2019

साउन ७, गुल्मी | गुल्मीको छुट्टा–छुट्टै स्थानमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको हो । जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ ।

त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएका हुन् ।

पहिरोमा परेकाहरुको उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको छ । घटनास्थल स्याङ्जाको सीमामा पर्ने घटनास्थलमा उद्धार तथा राहतका लागि पुग्न कठिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यद्यपि, प्रहरी त्यसतर्फ अघि बढिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!