तरुण दलको उदारताः आगोले दुवै हात र निधार पोलेको बालकलाई १ लाख १३ हजार सहयोग

Posted on: 29 Jul, 2019

साउन १३, खोटाङ | आगोले दुवै हात र निधार पोलेर शक्त घाईते भएका ५ महिने बालकलाई नेपाल तरुण दल खोटाङले आर्थिक सहयोग गरेको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी निर्मला राईको कान्छा छोरा प्रबिन राईलाई आइतबार साँझ १ लाख १३ हजार ३६५ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

गत शुक्रबार मध्यान्ह १२ वजे घरैमा दाजुले हेरचाह गर्दागर्दैे बालक एक्कासी अगेनामा परेका थिए । आमाबुबा खेतबारीमा काममा थिए । अगेनामा दुवै हात, निधार तथा शरीरका विभिन्न भाग पोलिएर घाईते भएका बालकलाई उपचारका निम्ति जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । परिवारले अस्पतालमा ल्याए पनि त्यहाँ उपचार हुन नसकेर रेफर गरिएको बालकको बारेमा टेम्माका विक्रम राईले थाहा पाएर समस्या बाहिर आएपछि तत्काल जुटेर आर्थिक सहयोग गरिएको नेपाल तरुण दल खोटाङका जिल्ला उपाध्यक्ष सन्जय कुमार राईले बताए । अगेनामा परेर दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा असर परी रक्तसञ्चार नभएको, निधारमा गम्भीर असर पुगेको र संक्रमण भएकाले बालकलाई कान्ती वाल अस्पताल काठमाण्डौ रेफर गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख नविन देवकोटाले बताए ।

तरुण दलको अगुवाईमा ५३ जना सहयोगीदाताबाट संकलन भएको रकम अस्पताल परिसरमा एक कार्यक्रमकाबीच तरुण दलका जिल्ला अध्यक्ष भीषण राईले बालकका आमालाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै बालकको थप उपचारका लागि अझै पहल गरिने उनले बताए । बालकका आमालाई सञ्चार सेवामा थप सहजताका लागि एकवटा मोवाईल र सिमकार्ड पनि हस्तान्तरण गरिएको छ । दिक्तेलबाट काठमाण्डौसम्म निःशुल्क गाडीको व्यवस्था गरी घाइते बालकलाई आमाका साथमा सोही दिन साँझ काठमाण्डौ पठाइएको छ । त्यहाँ पनि निःशुल्क उपचारको व्यवस्था मिलाइएको तरुण दल खोटाङले जनाएको छ । निर्मलाको तीन छोरी ६ छोरा छन् ।


तश्वीरमा: बालकका आमालाई सहयोग रकम हस्तान्तरण गर्दै तरुण दल अध्यक्ष भीषण राई । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!