चितुवाको आक्रमणबाट घाइते बालकलाई सहयोग

Posted on: 30 Jul, 2019

साउन १४, चितवन  | चितुवाको आक्रमणबाट घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलो बगैँचाका छ वर्षीय बालक हेमराज सुनुवार राईको उपचारार्थ भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

आइतबार राति शौचालय जाने क्रममा चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत बालकको उपचारमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाले रु २५ हजार र वडा नं २ ले रु १० हजार गरी रु ३५ हजार आर्थिक सहयोग गरेको हो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, वडाध्यक्ष अर्जुन केसीले उक्त रकम सोमबार अस्पतालमा नै पुगेर घाइतेका हजुरबुबा गोपीबहादुर सुनुवार राईलाई हस्तान्तरण गर्नुभएको छ । 

घाइते बालक मामाघरमा बसेर सोही वडाको होमराज लोहनी शारदा शिक्षा सदनमा कक्षा १ मा अध्ययन गर्छन् । घाइते बालकका आमा वैदेशिक रोजगारीमा सिलसिलामा विदेशमा हुनुहुन्छ भने बुबा बेपत्ता रहेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । 

“पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको र नगरवासीको पीडामा मलहम लगाउनु नगरपालिकाको उत्तरदायित्व हो”,वडाध्यक्ष केसीले भन्नुभयो, “हामीले गरेको सानो सहयोगले घाइतेको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेका छाँै ।”

घाइते बालकको घाँटीको शल्यक्रिया गरिएको छ । घाइते बालकको आर्थिक अभावकै कारण उपचारमा कुनै समस्या नहुने अस्पतालको तर्फबाट प्रतिबद्धता आएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । चितुवाले बालबालिकामाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित अवस्थामा छन् । 

चितुवाको आक्रमणबाट यहाँका बालबालिकाको मृत्यु भइसकेकाले चितुवाको नियन्त्रणका लागि विशेष उपाय अपनाउन प्रयास गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । चितुवाको आक्रमणबाट एक वर्षको अवधिमा भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भइसकेको छ । जिल्लामा गत वर्ष २४ वन्यजन्तु द्वन्द्वको घटना घटेको छ । जसमध्ये भानु नगरपालिकामा मात्रै १५  वन्यजन्तु द्वन्द्वको घटना छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!