रवि लामिछाने सहित तीन जना पक्राउ, तीनै जनालाई चितवन लगिने

Posted on: 15 Aug, 2019

साउन ३०, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको बिषयलाई लिएर अनुसन्धान गर्न प्रहरीले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । लामिछानेलाई आज साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो । 

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । 

पत्रकार पुडासैनीको आत्महत्याअघि खिचिएको भिडियोमा रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेलको नाम लिएका थिए । मृतक पुडासैनीले आफूलाई लामिछाने र कँडेलल गायतले मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको रेकर्डेट भिडियो सार्वजनिक भएको थियो । 

जनतासँग सिधा कुरामा आज सोही विषयमा प्रशारण गर्ने तयारी भईरहेका बेला प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । उनिहरुले आजको कार्यक्रमबाट आफुहरुमाथि लागेको आरोपको खण्डन गर्ने तयारी गरिरहेका थिए । 

न्युज २४ को कार्यालयबाट दुवै जना पक्राउ परेपछि आज प्रसारण हुन लागेको कार्यक्रम समेत प्रभावित बनेको छ । दुवै जनालाई चितवन लैजाने तयारी गरिएको छ । उनलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!