दाङमा चार पुल सञ्चालनमा

Posted on: 30 Aug, 2019

दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन् । तुलसीपुर–लमही सडकखण्डअन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताउनुभयो । 

पुल निर्माण कार्य पूरा भएपछि ती पुलमा गाडी आवतजावत गराउन थालिएको हो । यसअघि पुल सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको थियो । तर अहिले सहज भएको छ । “लामो समयदेखि पुल निर्माण नहुँदा यात्रुले सास्ती भोग्नुपरेको थियो”, उहाँले भन्नुभयो, “तर अहिले केही पुल सञ्चालनमा आएपछि सहज भएको छ ।” पुल निर्माण नहुँदा वर्षात्को सयममा यात्रुले निकै सास्ती खेप्नुपरेको थियो । वर्षाको समयको आएको भेलले सवारी वारपारसमेत समस्या हुने गरेको थियो । 

पोखरेलका अनुसार सक्राम खोलाको पुल पनि छिटफुट रुपमा सञ्चालनमा आएको छ । त्यस्तै अबको दुई महीनाभित्र घोराही–तुलसीपुर सडकखण्डबीचका बबई खोला पुल र गुर्जे खोलाका पुल पनि सञ्चालनमा आउने उहाँले बताउनुभयो । बबई र गुर्जे खोलवाको काम पनि अन्तिम चरणमा पुगेको छ ।  

डेढ वर्षअघिदेखि निर्माण शुरु भएको ग्वारखोलाको पुल निर्माणको काम भने आधाभन्दा बढि पूरा भएको छ । त्यस्तै सिस्ने खोलाको पुल निर्माणको काम पनि जारी छ । सबै पुल सञ्चालनमा आएपछि आवतजावतमा सहज हुने उहाँको भनाइ छ । पुल सञ्चालनमा आएपछि आवतजावतमा सहज भएको सवारी चालक सुनिल बिसीले बताउनुभयो । 

घोराही–तुलसीपुर सडकखण्डबीचमा पर्ने पत्रेखोलाको पुल निर्माणको काम भने अलपत्र छ । त्यहाँ दुईवटा पिल्लर ठड्याइएको छ । त्योभन्दा काम अघि बढ्न सकेको छैन । त्यहाँको पुल निर्माणका लागि नयाँ सामान ल्याउनुपर्ने हुँदा पनि काममा ढिलाइ भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । 

उक्त पुलका लागि आवश्यक पर्ने सामग्री नेपालमा नपाइने भएकाले पनि समयमा काम हुन नसकेको उहाँको भनाइ छ । सोही खोलाको पुल पाँच वर्षदेखि अलपत्र रहेकोसमेत उहाँले बताउनुभयो । पुललाई छिटो शुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए पनि सम्बन्धित निर्माण व्यवसायीले अटेरी गर्ने गरेकोसमेत उहाँको भनाइ छ । चालिस मिटर लम्बाइ रहेको उक्त पुल निर्माणको काम अहिले आधा नभई अलपत्र भएको छ । डेढ वर्षमा पुल निर्माण सक्ने गरी शङ्करमाली निर्माण सेवाले २०७१ भदौ ११ गते सम्झौता गरेको थियो । 

ठेकेदारको लापरवाहीले पुल निर्माण ढिलाइ

ठेकेदारको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ हुने गरेको सूचना अधिकारी पोखरेलको भनाइ छ । उहाँका अनुसार प्राविधिक सामग्री समयमा उपलब्ध नहुँदा पनि काममा केही ढिलाइ हुने गरेको छ । डेढ वर्षमा निर्माण सक्नुपर्ने पुल पाँच वर्षसम्म पनि निर्माण हुन नसक्नु दुःखद् भएको उहाँको भनाइ थियो । 

शीतलपुरको पुल जीर्ण

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–अमेलिया सडकखण्डको शीतलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको छ । पुलमा गरिएको पुरानो कालोपत्रे ठाउँठाउँमा खाल्डाखुल्डी परेपछि आवतजावतमा समेत समस्या हुने गरेको छ । समयमै मर्मत नहुँदा अहिले ठाउँठाउँमा ठूला–ठूला खाल्डाखुल्डी पर्नुका साथै पुलको रेलिङ पनि कमजोर हुँदै गएको स्थानीयले बताएका छन् । पुलको पूर्वतिरको भाग कमजोर हँुदै गएको छ । विसं २०५५ मा उक्त पुल निर्माण गरिएको हो । हाल सो पुल भएर दैनिक ५०० बढी यातायातका साधन आवतजावत गर्छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!