बौद्ध मन्दिरबाट उद्धार गरिएकामध्ये ८६ वटा बाघको मृत्यु

Posted on: 17 Sep, 2019

भदौ ३१, काठमाडौँ (एजेन्सी) | थाईल्यान्डको एउटा विवादास्पद बौद्ध पर्यटकीय केन्द्रबाट उद्धार गरिएका एक सय ४७ बाघमध्ये आधाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । टाइगर टेम्पल भनिने उक्त स्थानबाट सन् २०१६ मा उद्धार गरिएका ८६ वटा बाघको मृत्यु भएको हो ।

थाईल्यान्डको वन्यजन्तु निकुञ्ज हेर्ने निकायले धेरै बाघको मृत्यु भाइरसका कारण भएको र बसाइसराइले निम्त्याउने तनावका कारण बाघहरू दुर्बल भएको उल्लेख गरेको छ । जानकारी अनुसार बाघको प्रजननसँग जोडिएका आनुवंशिक कारणले पनि ती संरक्षित जीवको मृत्यु भएको बताइएको छ । थाई अधिकारीहरूका अनुसार सीडीभी भनिने केनाइन डिस्टेम्पर भाइरसका कारण केही बाघ बिरामी परेका थिए । धेरै बाघलाई स्वासप्रस्वासमा कठिनाई भएपछि बाघको मृत्यु भएको हो ।

टाइगर टेम्पलका भिक्षुहरूले मन्दिरमा बाघहरुसँग दुर्व्यवहार गरेको, तिनको तस्करी गरेको वा गैरकानुनी प्रजनन गराएको आरोप लगाएका छन् । तर भिक्षुहरूले उक्त आरोप अस्वीकार गरेका छन् । 

सन् २०१६ मा प्रहरीले छापा मारेपछि बाघहरूलाई राचाबुरी प्रान्तमा रहेका दुईवटा प्रजनन केन्द्रमा सारिएको थियो । त्यत्तिकै छोड्दा जीवित रहने सम्भावना न्यून हुने ठानेर बाघलाई त्यहाँ राखिएको बताइएको छ । सन् २०१६ देखि उक्त मन्दिर परिसर सर्वसाधारणका लागि बन्द गरिएको थियो र उक्त मन्दिरले धेरै मुद्दा खेपिरहेको छ ।  

बाघका अङ्गको तस्करी हुन्छ भन्ने आशङ्का छ। दक्षिणपूर्वी एशियामा घट्दै गएको भए पनि जङ्गली बाघको अवैध सिकार हुने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!