विद्यालय बिहान खोले कारवाही

Posted on: 19 Nov, 2019

 मङ्सिर ३, बलेवा । नगर शिक्षा शाखा बागलुङले पटक पटकको पत्राचार र निर्देशन अटेर गरेका विद्यालयमा कानूनी कारवाही प्रक्रिया थालेको छ । अब देखि बिहान कक्षा संचालन गरेको भेटिएमा कानूनी कारवाही थाल्ने बागलुङ नगरपालिकाले जनाएको छ ।

नगर शिक्षा शाखाले गत वैशाखदेखि पटक–पटक पत्राचार गरेर माध्यामिक विद्यालय दिउँसो १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको थियो । तर कात्तिक मसान्तसम्म पनि बिहानै चलाएपछि स्पष्टीकरण सोध्ने र कानूनी कारवाहीको तयारी थालेको हो ।

सङ्घीयता कार्यान्वयनपछि नेपाल सरकारले उच्च मावि खारेज गरेर कक्षा १ देखि १२ सम्मलाई मावि तोकेको छ । मावि तहको पढाई दिउँसो सञ्चालन हुनुपर्ने स्पष्ट व्यवस्था भएर पनि अटेर गरेपछि कारवाही प्रक्रिया थालिएको बताइएको छ ।

गत साउनदेखि केही विद्यालयले दिउँसोमा पढाउन थालेपनि बलेवाको गणेश माविसहित सदरमुकामका विद्यालयले अटेर गरेका हुन् । सदरमुकामकै कालीका कन्या मावि, चिल्ड्रेन लाईफ, अमर आदर्श, आदर्श विद्यामन्दिर, सनराईज, अमृत आदर्श, न्यू ओएसिस, गरिमा आवासीय मावि र फ्युचर ब्राइटर माविले पनि बिहान कक्षा चलाएको भेटिएको हो ।

ती विद्यालयमा पटक–पटक पत्राचार गरेर निर्देशन दिए पनि निर्देशन पालना नभएको हो । नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले सात दिनभित्र निर्देशन पालना गर्न र निर्देशन किन पालना नगरिएको स्पष्टीकरण पेश गर्न पनि पत्राचार गर्नुभएको छ । अटेर भइरहेमा कानून बमोजिम कारवाही गर्ने योजनासमेत नगरपालिकाले बनाएको छ । 

खरका छाना विस्थापन गरिने

खरका छाना विस्थापित गर्ने भन्दै बागलुङ नगरपालिकाले विपन्न परिवारमा जस्तापाता वितरणको अभियान थालेको छ । ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गरेर नगरका १४ वटै वडामा खरका छाना विस्थापनको काम थालिएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत खरका छाना रहेका परिवारको लागि नगरपालिकाले जस्ता पाता निःशुल्क उपलब्ध गराउने भएको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर खरका छाना रहेका परिवारले जस्तापाता लिनका लागि प्रस्ताव आह्वान गरेको थियो । १६४ जनाले प्रस्ताव पेश गरेको नगरको महिला विकास शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीले बताउनुभयो ।

यस वर्षका लागि विनियोजन भएको १५ लाख रुपैयाँ बजेटबाट ४० वटा खरका छाना विस्थापित हुँदैछन् । नगरपालिकाले प्रस्ताव गरेका घरमा प्राविधिक खटाएर घरको अवस्था र आवश्यक जस्तापाताको विषयमा लगत सङ्कलन गरेको थियो । तत्कालै परिवर्तन गर्नुपर्ने घरको पहिचान गरेर पहिलो चरणमा जस्ता वितरण गरेको रेग्मीले बताउनभयो । सोमबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले खरका छाना भएका परिवारको लागि जस्तापाता हस्तान्तरण गरेको थियो । 

जस्तापाता हस्तान्तरण गर्दै प्रमुख पौडेलले गरीबीका कारण खरको छानामा बस्न बाध्यतालाई अनुदान दिएको बताउनुभयो । “हाम्रा प्राविधिकले घर–घरमै पुगेर स्टिमेट गर्नुभएको छ सोही आधारमा निःशुल्क जस्तापाता दिएका छौं” पौडेलले भन्नुभयो, “यो वर्ष अपुग भएका घरले अर्को वर्षको कार्यक्रममा पाउँछन् ।” यो वर्षको कार्यक्रममा जस्तापाता पाउनेमध्ये सबैभन्दा धेरै बानपा–११ रायडाँडा र बानपा– १० भकुण्डेमा सात/सात परिवार रहेका छन् । बागलुङ नगरपालिका– १४ नारायणस्थानमा एक परिवारले मात्रै यो वर्ष जस्तापाता पाउने तथ्याङ्क नगरपालिकामा छ ।

प्रस्ताव आह्वानका क्रममा कतिपय वैकल्पिक व्यवस्था भएका घरलेसमेत माग गरी फाराम पठाएकाले स्थलगत अनुगमन गरेर घर पहिचान गरेर मात्रै जस्ता वितरण गर्न लागिएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!