लकडाउनको बेला खाद्यवस्तु घरघर पुर्‍याउन गृहको निर्देशन (विज्ञप्ति सहित)

Posted on: 26 Mar, 2020

चैत १३, काठमाडौँ | सरकारले जनतालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ । सरकारले उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो । 

गृहसचिव महेश्वर न्यौपानेले लकडाउन अधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसग समन्वय गरेर पास लिन व्यवसायीलाई आग्रह गरेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर सर्वसाधारणलाई घरघरमा दैनिक उपभोग्य वस्तु डेलिभरी गर्न निर्देशन दिएको बताए । व्यवसायीहरुले पनि छिट्टै होम डेलिभरीका लागि काम थाल्ने प्रतिबद्धता जनाएका छन् । लकडाउन अवधिभर सञ्चालन हुने खाद्य पसल तथा अन्य दैनिक उपभोग्य वस्तुका सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनबाट सहजै पास उपलब्ध गराउने बताइएको छ । 

गृहले जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधान तथा कालोबजारी, कृत्रिम अभाव गर्नेको सूचना दिन पनि ११४९ नम्बर वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ । लकडाउनका बेला मानिस आवतजावत निषेध गरिए पनि सरकारले दूध, दाल/चामल, पानी, तरकारी, ग्यासलगायत दैनिक उपभोग्य वस्तु बिक्रीलाई खुकुलो बनाएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ

नेपाल सरकार (मन्त्रिपरिषद्‍) को मिति 2076/12/09 गतेको निर्णय बमोजिम संक्रामक रोग ऐन, 2020 को दफा 2 अनुसार मिति 2076/१२/११ गते बिहान ६ बजे देखि लागु हुने गरी जारी गरिएको आदेशको बारेमा सबै नागरिहरुलाई अवगत नै छ। उक्त आदेश बमोजिम विश्‍व्यापी रुपमा संक्रमण भइरहेको कोरोना भाइरस (COVID-19) बाट आफु सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन सबै नागरिकहरुले आफ्नो आफ्नो स्थानबाट नागरिक कर्तव्य पूरा गर्नुहुनेछ भन्‍ने कुरामा मन्त्रालयले विश्‍वास लिएको छ । त्यसको लागि सबै नागरिकहरु अत्यावश्यक काम नपरी आफु पनि घरबाट बाहिर निस्कनु हुने छैन र परिवारका सदस्य, साथीभाई, आफन्त, इष्टमित्र, छरछिमेकी लगायत चिनेजानेका सबैलाई घरभित्र नै रहनको लागि उत्प्रेरित गर्नुहुनेछ भन्‍ने अपेक्षा राखिएको छ ।

यसै सन्दर्भमा नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि गृह सचिव महेश्‍वर न्यौपानेज्यूको अध्यक्षतामा आज बसेको बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।

1.काठमाण्डौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै Store एवं विक्रेताहरुले आ-आफ्ना Delivery Van मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने ।

2.आवश्यक पर्ने Delivery Van हरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।

3.पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने ।

4.माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै Store एवं विक्रेताहरुले आ-आफ्नो Toll Free Number वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, Online, Offline मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको (Combo Pack समेत) विक्रिवितरण गर्ने ।

5.दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका/नगरपालिकाहरुले मिलाउने ।

6.काठमाण्डौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका Store एवं विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने ।

यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने Toll Free नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!